बजेटले बढायो सुनको दाम, अब प्रति ग्राम ८ सय ५० भन्सार लाग्ने

काठमाडौं । सरकराले सुनचाँदीको भन्सार दर बढाएको छ। आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले सुनको भन्सार दर प्रति १० ग्राम २ हजार रुपैयाँ वृद्धि गरेर ८ हजार ५ सय पुर्याएका हुन्। अब सुन तोला मा २ हजार ३ सय ३२ रुपैयाँले बढ्ने भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए ।

यसरी हेर्दा प्रति ग्राम सुनको भाउ ८ सय ५० रुपैयाँले पुगेको छ । अहिले प्रति दश ग्राम सुनको भन्सार दर ६५ सय रुपैयाँ छ । यसलाई ८५ सय रुपैयाँ पुर्याइएको हो । यस हिसाबले अब सुनको भाउ प्रति १० ग्राम २ हजार रुपैयाँले बढ्ने देखिएको छ । यसरी हिसाव गर्दा तोलामा सुनको भाउ २ हजार ३ सय ३२ रुपैयाँले महँगिने भएको छ ।

चाँदी ११ रुपैयाँ ६६ पैसा महँगिएको छ । चाँदीको भन्सार दर प्रति १० ग्राम १० रुपैयाँले बढेको छ । अहिले ७५ रुपैयाँ थियो अब ८५ रुपैयाँ पुगेको छ । सरकारले हवाई इन्धन र एलपी ग्यास बाहेकका पेट्रोलियम पदार्थ, सुन तथा सुनका गहनामा लाग्‍ने भन्सार महसुलमा सामान्य वृद्धि गरेको छ ।

१५ प्रतिशत वन पैदावार शुल्क आजैबाट खारेज गरिएको अर्थमन्त्री युवराज खतिवडाले बिहीबारको बजेट भाषणका क्रममा बताए। यस्तै औद्योगिक क्षेत्र र व्यवसायिक ग्राममा स्थापना हुने विशेष उद्योगलाई स्थापना भएको मितिले पाँच वर्षसम्म २५ प्रतिशत कर छुट दिइएको छ। चुरोटमा कर बढेको छ भने गैरकर राजस्वको दर पुनरावलोकन गरिने उल्लेख छ ।

नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा कारोबार गर्ने सम्पूर्ण सहकारीलाई क्रमश ५, ७ र १० प्रतिशत आयकर लाग्‍ने भएको छ । वार्षिक २० लाखसम्म कारोबार गर्ने साना करदाताले आयविवरण र कर मोबाइल एप्समार्फत बुझाउन सक्ने व्यवस्था सरकारले मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस्