जापान रोजगारी, मार्चदेखि परीक्षार्थी कोटा बढ्ने

काठमाडौं : जापान रोजगारीका लागि लिइने परीक्षार्थीको संख्या बढ्ने भएको छ । जापान रोजगारीमा इच्छुक संख्याको तुलनामा निकै कमले मात्र भाषा र सीप परीक्षामा सहभागी हुन पाइ रहेको बेला जापान फाउन्डेसनले आउँदो मार्च देखि परीक्षामा सहभागी हुनेको संख्या बढाउन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

‘मार्च महिनादेखि हुने भाषा र सीप परीक्षामा एक हजार तीन सयले प्रतिस्पर्धा गर्न पाउने भएका छन’ मन्त्रालयका उपसचिव दीपक ढकालले बिहीबार नागरिकसँग भने ‘त्यसपछि केही युवायुवती रोजगारीका लागि जापान जान पाउने अपेक्षा गरिएको छ।’ अघिल्लो वर्ष जापान सरकारले नेपाललाई कामदार आपूर्ति गर्ने स्रोत मुलुकको सूचीमा राखेपछि ठूलो संख्याका युवायुवतीले जापान जान पाउने आसमा भाषा र सीप सिकेका छन्।

तर अहिलेसम्म एकजना पनि जापान जान पाएका छैनन्। फाउन्डेसनले पहिलोपटक अक्टोबरमा एक हजार युवायुवतीको भाषा र सीप परीक्षा लिएपनि एकजना पनि उत्तीर्ण हुन सकेका थिएनन्। ‘एउटा पनि परीक्षार्थी सफल नहुनको कारण निकै थोरैले प्रतिस्पर्धा गर्न पाएकाले हो कि भन्ने मन्त्रालयको अनुमान छ,’ ढकालले भने, ‘यस्तो समस्या समाधानका लागि परीक्षार्थीको कोटा वृद्धि गर्न जरूरी थियो।

अब वृद्धि गरिएको कोटाले केही सहयोग पुग्ला कि !’ पहिलो चरणको भाषा र सीप परीक्षामा सहभागी हुन १३ हजारले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये फाउन्डेसनले गो’ला प्रथाबाट एक हजारलाई मात्र भाषा र सीप परीक्षामा सहभागी गराएको थियो। मन्त्रालयले आवेदन दिएका सबैलाई भाषा र सीप परीक्षामा सहभागी गराउन आग्रह गरे पनि फाउन्डेसनले ठूलो संख्यालाई परीक्षा लिन नसकिने भन्दै गोलाप्रथाबाट एक हजारलाई मात्र छनोट गरेको थियो।

‘जापान लैजाने कामदार छनोटमा मन्त्रालयको भूमिका खासै नहुने भएकाले हामीले आग्रह मात्रै गर्ने हो,’ ढकालले भने, ‘कति संख्या र कस्ता कामदार लैजाने भन्नेबारे निर्णय गर्ने सम्पूर्ण अधिकार जापान सरकारले छनोट गरेको जापान फाउन्डेसनको हो ।’ फाउ न्डेसनले कामदार छनोट गर्दा भाषा र सीपमा दक्षलाई मात्र लिने जनाएको छ।

जापान सरकारले अघिल्लो वर्ष नेपाललगायत विश्वका नौ स्रोत मुलुकबाट आउँदो पाँच वर्षमा साढे तीन लाख श्रमिक लैजाने घोषणा गरेको थियो । नेपालबाट कति कामदार लैजाने भन्नेबारे कोटा नतोकिए पनि सरकारी अधिकारीहरूले वर्षमा पाँच हजार जति पठाउने पहल गरेका थिए। जापान सरकारले चौध सेक्टरमा काम गर्नका लागि विभिन्न गन्तव्य मुलुकबाट कामदार लैजाने निर्णय गरे पनि फाउन्डेसनले नेपालबाट पहिलो चरणमा नर्सिङ केयरको भाषा र सीप परीक्षा सुरु गरेको थियो।

पहिलो चरणको भाषा र सीप परीक्षामा सहभागी सबै अनुत्तीर्ण हुनुको कारण सरकारी अधिकारीहरूले नर्सिङ केयरका लागि मात्र परीक्षा लिइनुलाई पनि लिएका छन्। ‘कृषि, निर्माण, मत्स्यपालन जस्ता क्षेत्रमा काम गर्न भाषा र सीपको परीक्षा लिइएको भए नेपाली युवा सफल हुन्थे कि भन्ने लाग्छ,’ ढकालले भने। पहिलो चरणमा कोही पनि उत्तिर्ण नभएपछि अब हरेक दुई महिनामा जापान रोजगारीका लागि भाषा र सीपको परीक्षा हुने मन्त्रालयले जनाएको छ।

राम्रो पारिश्रमिक पाइने र बसोबास पनि राम्रो भएकाले लामो समय देखि जापान जान ठूलो संख्यामा युवा युवती प्रतीक्षारत छन् । अघिल्लो वर्ष जापानले कामदार लैजाने निर्णय गरेसँगै ठूलो संख्याका युवा युवतीले जापानीज भाषा सिकिरहेका छन् । अधिकारीहरूका अनुसार रोजगारीका लागि जापान जाने युवायुवतीको मासिक न्यूनतम पारिश्रमिक डेढ लाख रुपैयाँभन्दा बढी हुन्छ।

प्रतिक्रिया दिनुहोस्