लुगा लगाएर मात्र हुँदैन न्यानो, जाडोमा खानुस् यी खानेकुरा

काठमाडौं : मौसममा आएको बदलिका कारण शुक्रबार देखि काठमाडौं उपत्यका सहित देशभर चिसो बढेको छ । हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ भने काठमाडौं उपत्यकासहितका स्थानमा वर्षा भएको छ । जसका कारण चिसो अत्यन्त बढेको छ । चिसो बढेका कारण न्यानो लुगा वा न्यानो वातावरणमा बस्नु नै भएको होला । तर त्यतिले मात्र पनि शरीरलाई पुग्दैन ।

त्यसैले खानपानमा पनि ध्यान दिन जरुरी हुन्छ । जाडोमा न्यानो महसुस हुने खाना खानुपर्छ । यतिबेला झोल कुराहरू जस्तै चिकेन सुप, मसरुम सुप, भिटामिन सीयुक्त खानेकुरा कागती, सुन्तला आदि फाइदा जनक साबित हुन्छन् । यसैगरी सुपमा वा तरकारीमा लसुन प्रयोग गर्दा पनि रुघाखोकी तथा ज्वरो आउने समस्याबाट जोगिन सकिन्छ ।

अमेरिकास्थित एक फर्मास्युटिकल्स एसोसियसनका अनुसार जाडो मौसममा एक गिलास पानीमा ज्वानो, अदुवा तथा दालचिनी हालेर पिए जाडोको फ्लुबाट जोगिन सकिन्छ । भिटामिन सीयुक्त खानेकुरा सुन्तला, कागती, पालुंगो तथा गोलभेंडाले रोगप्रतिरोधक क्षमता बलियो बनाउनुका साथै जाडोमा लाग्ने रुघाखोकी एवं ज्वरोसँग लड्न सहयोग मिल्छ । त्यसैगरी अण्डाको पहेंलो भागबाट प्रशस्त भिटामिन डी प्राप्त गर्न सकिन्छ ।

यसले जाडो मौसममा खोकी तथा छातीको इन्फे’क्सन बाट जोगाउँछ । त्यस्तै गरि बिहान एक गिलास अदुवा चिया वा ग्रिन टी, एउटा अण्डा खानु स्वास्थ्यका लागि राम्रो हुन्छ । बिहानको खानामा १० बजे तिर भात, एक कचौरा दाल तथा गेडा गुडीको रस, साग (पालुंगो भए राम्रो), ब्रोकाउली वा काउली खान सकिन्छ ।यसैगरी दिउँसो १ बजेतिर स्याउ, सुन्तला तथा डार्क चकलेट खाने । ४ बजेतिर पाकेका गेडागुडी, मकै तथा एक गिलास दूध र चिउरा खान सकिन्छ ।

सम्भव भए हलुवा पनि उपयुक्त हुन्छ । बेलुकाको खानामा २ वटा रोटी एवं एक गिलास गेडागुडीका साथ मसरुम सुप वा चिकेन सुप समावेश गर्न सकिन्छ । राति दूधमा मह तथा बेसार मिसाएर पिउन सकिन्छ। यसले शरीरलाई न्यानो बनाउनुका साथै कफ निमो नियाँबाट जोगाउँछ भने राति मीठो निद्रा लाग्छ । यस्ता खानेकुराले जाडो मौसममा तातो महसुस गराउनुका साथै शरीरलाई आवश्यक पोषणसमेत प्रदान गर्छन् । यो सामान्य मानिसका लागि उपयुक्त डाइट हो । यद्यपि सबैले एउटै क्यालोरी प्रयोग गर्न भने मिल्दैन।

प्रतिक्रिया दिनुहोस्