भारी हिमपातसँगै वर्षा, जनजीवन क’ष्टकर

काठमाडौं : बाजुरामा बिहीबार अपराह्न देखि दोस्रो पटक भारी हिमपात र वर्षा भएको छ । जिल्लाका मार्तडीको पोरखे, बिच्छ्या, दहकोट, जुकोट, रुगीन, आटीचौरका माथिल्ला दर्जन बढी स्थानमा भारी हिमपात भएको छ । हिमपातसँगै तल्लो क्षेत्रतिर चिसोका कारण जनजीवन प्रभावित बनेको छ ।

अहिले माथिल्लो लेकाली क्षेत्रमा भारी हिमपात भएको छ भने तल्लो क्षेत्रमा वर्षा भइ रहेकाले अत्यधिक चिसोका कारण घरबाहिर निस्कन समेत समस्या भएको छ । चिसोका कारण जिल्लाका विभिन्न नगर तथा गाउँपालिका आसपासका स्थानीय हाटबजार आङ्शिक रूपमा बन्द छन् । हिमाली क्षेत्रमा भारी हिमपातले बाहिर निस्कन समेत समस्या भइरहेको गौमुलका रामबहादुर बुढाले जानकारी दिएका छन् । चिसो छल्न बेँसी झरेकालाई पनि बिहीबार देखि बढेको चिसोले समस्या परेको छ ।

चिसोबाट बालबालिका, महिला, वृद्ध वृद्धा बढी प्रभावित हुने भएकाले न्यानो भएर बस्न चिकित्सकले सुझाव दिएका छन। आकाशे पानीको भरमा खेती गर्दै आएका किसान हिमपात सँगै वर्षा भएपछि खुशी भएका छन् । चिसोले हिमाली क्षेत्रमा पर्ने बिच्छ्या, रुगीन कोल्टी, पाण्डुसैन, दहकोट लगायतका क्षेत्रमा विद्यालय बन्द छन् भने स्थानीय वासीलाई दैनिक कामकाज गर्नसमेत समस्या भएको छ ।

सुदूरपश्चिमका अधिकांश विद्यालयमा तेस्रो त्रैमासिक परीक्षा सञ्चालन भइरहेको छ । वर्षा र हिमपातका कारण विद्यालयले सञ्चालन गर्दै आएका परीक्षा समेत प्रभावित हुने मालिका नमूना माध्यमिक विद्यालयका प्रधाना ध्यापक शुभराज पाध्यायले बताउनु भयो। चिसोले विद्यार्थीलाई समस्या हुने भएकाले परीक्षा नै स्थगित गर्नुपर्ने हुनसक्ने प्रधानाध्यापक पाध्यायको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्