‘राजस्व भन्सार केन्द्रित छैन, निजी क्षेत्र डराउनु पर्दैन’

काठमाडौं । अर्थ मन्त्री डा. युवराज खतिवडाले सरकार भन्सार राजस्वमा केन्द्रित नभएकाले अतिरिक्त त्रासमा नबस्न निजी क्षेत्रलाई आग्रह गरेका छन। ६८औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थ मन्त्री खतिवडाले व्यापार घाटा कम हुँदा राजस्व घटेको तर सरकार व्यवसायीलाई डण्डा लगाएर राजस्व असुल्ने पक्षमा नरहेको बताएका हुन् ।

उनले भने, ‘व्यापार घाटा कम हुन थाल्यो अलिकति आयातित वस्तु कम हुँदा राजस्व पनि कम हुन थाल्यो अर्को त्रास, फेरि राजस्व कम भयो अब सरकारले डण्डा लगाएर कहाँ बाट राजस्व उठाउँछ भन्ने अर्को त्रास, हामी त्यसो गर्दैनौं ।’ उनले सरकारले जति कर लाग्ने आय हो त्यतिमा मात्रै राजस्व उठाउने लक्ष्य रोखकाले व्यवसायीहरूलाई नडराउन आग्रह गरे । उनले भन्सार राजस्वमै केन्द्रित भएर अर्थतन्त्र लामो समयसम्म चल्न नसक्ने बताए ।

अर्थमन्त्री खतिवडाले आन्तरिक राजस्वको वृद्धि दर पनि बढ्दै गएकाले मुलुक आयातमा आधारित राजस्व प्रणालीबाट आन्तरिक उत्पादन र आन्तरिक आयमा आधारित राजस्व प्रणालीमा गइसकेको बताए । उनले भने, ‘भन्सार राजस्वमै केन्द्रित भएर अब हाम्रो अर्थ तन्त्र लामो समय चल्दैन आन्तरिक राजस्वको वृद्धि राम्रो छ व्यावसायिक क्षेत्रलाई धन्यवाद औषतमा २५ प्रतिशतको वृद्धि छ मूल्य वृद्धिदर र आन्तरिक भ्याटको वृद्धि दर त्यो भन्दा राम्रो छ हामी क्रमशः आयातमा आधारित राजस्व प्रणाली बाट आन्तरिक उत्पादन र आन्तरिक आयमा आधारित राजस्व प्रणालीमा उन्मुख हुँदैछौं ।’

अर्थमन्त्री खतिवडाले लक्ष्य अनुरूपको राजस्व नउठ्दा समेत आफू नडराएको बताए । उनले विदेशी मुद्रा सञ्चितिमा दक्षिण एसियामै राम्रो रहेको र पछिल्लो समय बैंक ब्याजदर पनि तल रहेकाले अर्थतन्त्रमा कुनै समस्या नदेखिएको बताए। उनले राजस्वमुखी भन्सार प्रणाली भयो भन्ने गुनासो आउने गरेको र त्यसलाई सुधार गर्न मुलुकभित्र लागनी वृद्धि गरी उत्पादन बढाउने र निर्यात बढाउने लक्ष्य सरकारले राखेको बताए ।

उनले भने, ‘औद्योगिक वातावरण बनाउने र मुुलुकलाई आफ्नो उत्पादन प्रणालीलाई बलियो बनाउन औद्योगिक संरक्षण दिने कुरा हो,अलिकति हाम्रो आर्थिक वृद्धिका लागि आन्तरिक बजार पनि पुग्दैन भनेर निर्यात ढाउन पनि जोड दिनुपर्छ भनेर भन्सारका दरहरू निर्यातमा न्यूनतम राख्नुको एउटा कारण निर्यात बढेन भने आर्थिक वृद्धि हुँदैन भन्ने हो ।’

कार्यक्रममा अर्थमन्त्री खतिवडाले मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्ने र त्यसको आधारबाट औद्योगीकरणको प्रकृया अगाडि बढाउने र सरकारको आय भन्सारमा केन्द्रित नभई आन्तरिक आयमा केन्द्रित गराई मुलुकलाई सबल सुदृढ अर्थतन्त्र तर्फ लैजाने बताए ।

प्रतिक्रिया दिनुहोस्