कान्ति लोकपथमा सरकारको लगानी बालुवामा पानी

काठमाडौं: सरकारले कान्ति लोकपथमा गरेको अर्बौं लगानी खेर जाने देखिएको छ । उपत्यकालाई तराई जोड्ने प्रमुख लाइफ लाइन मानिएको कान्ति लोकपथका विभिन्न क्षेत्र पहिरोको उच्च जो’खिममा रहेको प्राविधिक प्रतिवेदन सँगै लगानी खेर जाने संकेत देखिएको हो । कान्ति लोकपथमा सरकारले हालसम्म दुई अर्ब ५० करोडभन्दा बढी लगानी गरिसकेको छ ।

सरकारले चालु आर्थिक वर्षमा मात्र ६० करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। तर विज्ञसमेत सम्मिलित सडक विभाग र कान्ति लोकपथको प्राविधिक टोलीले ललितपुरबाट हेटौँडासम्म ९२ किलोमिटर सडकको करिब ४० किलोमिटर क्षेत्र पहिरोको उच्च जोखिममा रहेको निष्कर्ष निकालेको छ । आयोजनाका प्रवक्ता एवं इन्जिनियर अमिन्द्र खड्काले ललितपुरदेखि हेटौँडासम्मका विभिन्न स्थानको सडक उच्च जोखिममा रहेको देखिएको बताए ।

उनका अनुसार तीनपाने नयाँगाउँ, छपेली, काल्चेभी, सिमातहुँदै मकवानपुर गढीसम्मको ४० किलोमिटर सडक पहिरोको उच्च जोखिममा रहेकाले वैशाखदेखि असोजसम्म सवारी साधन पूर्णरूपमा सञ्चालनमा आउन नसक्ने देखिएको छ। सडक बाह्रै महिना सञ्चालन मा आउन सक्ने बनाउन निकै ठूलो लगानी गरेर विदेशी प्रविधिको प्रयोग गर्नुपर्ने पनि प्रवक्ता खड्काले बताए । आजको नया पत्रिका दैनिकमा खबर छ ।

हालसम्म ७० प्रतिशत काम सकिएको कान्ति लोकपथको पाँच किलोमिटर क्षेत्र पहिरोकै कारण कालोपत्रे गर्न नमिल्ने पनि उनले जानकारी दिए। उनले पाँच किलोमिटर क्षेत्रमा सामान्य वर्षा हुँदा पनि पहिरो जाने भन्दै त्यहाँ कालोपत्रे गर्ने कि नगर्ने भन्नेमा कुनै निर्णय हुन नसकेको बताए । स्रोतका अनुसार गत आर्थिक वर्षमा पहिरोले सडक भत्किँदा करिब ३२ करोडको लगानी बालुवामा पानी बनेको थियो । गत वर्षको बैशाखमा गरिएको कालोपत्रे असारमा भत्किएको थियो ।

गत वर्ष ४६ किलोमिटर कालोपत्रे गरिएको कान्ति लोकपथको यस वर्ष २७ देखि ३० किलोमिटर कालोपत्रे गर्ने योजना रहेको प्रवक्ता खड्काले जानकारी दिए। यसरी कान्ति राजपथ निर्माण सम्पन्न हुनै लाग्दा प्राविधिक हिसाबले जो’खिम पूर्ण देखिए पछि सरकारको लगानी माथि नै प्रश्न उठेको छ । ६३ वर्षअघि सपना देखिएको कान्ति लोक पथ आयोजना पूर्ण हुँदा लागत तीन अर्ब ३५ करोड पु्ग्ने अनुमान गरिएको छ । सडकको कुल ९२ किलो मिटर मध्ये कान्ति लोकपथ सडक आयोजनाले ७९ किलोमिटर हेर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्