सप्तकोसीमा जल यातायात : घट्यो दूरी, फेरियो जीवनशैली

विराटनगर, १३ माघ । विराटनगरबाट १० घण्टा लाग्ने भोजपुरको यात्रालाई सप्तकोसीमा सञ्चालित मोटर बोटले चार घण्टामा झारेको छ । सडकमार्ग हुँदै विराटनगर– इटहरी– धरान– धनकुटा हुँदै भोजपुर पुग्ने दूरीलाई सप्तकोसीको जल याता यातले २० किलोमिटरमा खुम्च्याइ दिइएको हो ।

सप्तकोसीमा व्यावसायिक जेटबोट सञ्चालन भएसँगै भोजपुर सदरमुकाम देखि दक्षिणवर्ती क्षेत्र हतुवागडी र आमचोक, रामप्रसाद गाउँ पालिका सहितका गाउँपालिका सहजै तराईका जिल्लासँग जोडिएका छन् । सुनसरीको वराह क्षेत्र–१, चतराबाट भोजपुर, उदयपुर र धनकुटाको सङ्गमस्थल हलेदे सिम्लेसम्मको जल यातायातले स्थानीयको जीवनशैलीसमेत परिवर्तन भएको छ । यसैगरी उदपयुरको बेलका गाउँपालिकाका नागरिकलाई समेत जल यातायातले सहज बनाएको छ ।

विराटनगरबाट एक घण्टामा चतरा पुगेपछि १५ मिनेटमै भोजपुरको हतुवागडी हसनपुर (हलेदे) पुगिन्छ । हसनपुरदेखि २२ किलोमिटर दूरीमा घोडेटार पर्दछ। विराटनगर–घोडेटारसम्मको यात्रालाई अढाइ घण्टामा पूरा गर्न सकिने भएपछि प्रदेश राजधानीसँग भोजपुरको दक्षिणवर्ती क्षेत्र सहजै जोडिन पुगेको हो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

यसैगरी धनकुटाको शहीद भूमि गाउँपालिका सिम्ले क्षेत्रका स्थानीय पनि दुई घण्टामा विराटनगर आइपुग्ने अवस्था जेटबोट सञ्चालनपछि भएको छ। सदरमुकाम धनकुटा हुँदै आउँदा सात घण्टाको बाटोसमेत दुई घण्टामा पूरा हुने अवस्था आएको हो। हतुवागडी–९ का स्थानीय एवं पूर्व हसनपुर गाविसका अध्यक्ष भीम राईका अनुसार जेटबोट सञ्चालनपछि गाउँका उत्पादन तराईका बजारसम्म पठाउन समेत सहज भएको छ ।

रोजगारी खोज्दै सहरमा झर्ने युवासमेत हलेदेमा होटल व्यवसाय सञ्चालन गर्न थालेका छन् । गाउँका खेतबारीमा समेत अहिले खेती सुरु गरिएको हतुवागडीमा अदुवा र अम्लिसो जस्ता नगदे बालीसँगै पशुपालनतर्फ आकर्षण बढ्दै गएको राई बताउनु हुन्छ । खेती मै सुधार भइरहेको छ, अर्का स्थानीय मिलन राईले भन्नुभयो, भाडा केही महँगो भए पनि पहुँचमा जोड्ने मुख्य आधारले उत्पादनमा जोडिने अवसर सिर्जना गरेको छ ।

सप्तकोसीमा अहिले चारवटा कम्पनीले जल यातायातको सेवा दिइरहेका छन। सप्तकोसी टुरिज्म एन्ड जल यातायात, वराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा, वराहक्षेत्र मरिन एन्ड रिसोर्ट प्रालि र नेपाल रिभर ट्रान्सपोर्ट एन्ड टुरिज्मका छवटा बोट सञ्चालनमा रहेका छन् । सप्तकोसी टुरिज्म एन्ड जल यातायातका सञ्चालक राजेन्द्र कार्कीका अनुसार वराहक्षेत्र–हलेदेसम्म पाँचसय रुपियाँ भाडादर कायम गरिएको छ ।

दोहोरो भाडादर एक हजार रुपियाँ तोकिए पनि सर्व साधारणले भने सहज महसुस गरेर बुझाउने गरेको उहाँको दाबी छ । नदीमा रहेका केही अवरोध हटाउन सके दोलालघाट सम्म जलयत्रा तय गर्न सकिने सम्भावना समेत उत्तिकै रहेको छ। नदीको भित्री सतहमा रहेका चट्टानलाई हटाउन लगानी गर्नसके तुम्लिङटारसम्म जल यातायात तत्काल सञ्चालन गर्न सकिन्छ । त्यसका लागि सुनकोसीको उदयपुर बेलका–७ र भोजपुरको हतुवागडी–९, लामपाते घागीमा रहेको चट्टान र बेलका र भोजपुरको आमचौकीबीचमा रहेको अवरो ध हटाउनुपर्ने अध्यक्ष राईको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्