कालापत्थरमा फेसन शो गरी विश्व कीर्तिमान

काठमाडौं : माउन्ट एभरेस्ट फेसन रनवेले कालापत्थरमा फेसन शो गरी विश्व कीर्तिमान कायम गरेको छ। आइतबार सोलुखुम्बुको कालापत्थरमा आयोजित फेसन शो विश्वकै उच्च स्थानमा गरिएको भन्दै आयोजक संस्थाले गिनिजबुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ज गर्न सफल भएको हो। सो कार्यक्रम समुन्द्री सतहबाट पाँच हजारभन्दा माथि आयोजना गरिएको हो।

फेसन शोमा आठ नेपाली, एक फिनल्यान्डकी, पाँच इटालीकी, एक श्रीलंकाकी र एक सिङ्गापुरकी मोडलहरूले सहभागिता जनाएका थिए। कार्यक्रमको मुख्य उद्धेश्य उच्च स्थानमा आयोजना गरी जलवायु परिवर्तनको असरबारे जनचेतना जगाउनु रहेको पर्यटन बोर्ड ले जनाएको छ। कार्यक्रम आयोजना गर्न ४८ जनाको टोली गत जनवरी १८ तारिखमा लुक्लाबाट कालापत्थरका लागि पैदल हिँडेका थिए।

पर्यटन मन्त्रालयका सचिव केदार बहादुर अधिकारी, नेपाल पर्यटन बोर्डका सिइओ नन्दिनी लाहे थापा विश्वाम्बर घिमिरे, गिनिज वर्ल्ड रेकर्डका अधिकारी समेतले कार्यक्रममा सहभागिता जनाएका थिए। यस शोमा सबै प्राकृतिक अर्गानिक र नेपालबाट उत्पादित फेसन सामग्री देखाइएको थियो। सहभागीहरु जनवरी ३० तारिखमा काठमाडौं आइपुग्ने बताइएको छ।

फेशन प्रदर्शनीका क्षेत्रमा स्थापित संस्था ‘काशा’ले भ्रमणवर्ष २०२० लाई लक्षित गरी सो कार्यक्रमको आयोजना गरेको हो। नेपाल पर्यटन बोर्डले कार्यक्रम आयोजनामा सहयोग गरेको थियो। आयोजकले काला पत्थरमा फेसन शो गर्नुको अर्काे मुख्य उद्देश्य हिमालयन क्षेत्रमा जलवायु परिवर्तनका कारण परेको प्रभावबारे अन्तर्राष्ट्रिय ध्यानाकर्षण गर्नु रहेको बताएको छ। यसअघि यस्तै उद्देश्य राखेर २०६६ सालमा माधवकुमार नेपाल नेतृत्वको सरकारले कालापत्थरमैं मन्त्रिपरिषद बैठक राखेको थियो।

प्रतिक्रिया दिनुहोस्