सबै नागरिकले राज्यलाई कर तिर्नुपर्छः मन्त्री जम्कट्टेल

हेटौँडा । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले सबै प्रकारका व्यवसाय गर्ने नागरिकले राज्यलाई कर तिर्नुपर्ने बताएका छन् । उनले कर तिर्दिन भन्नु सचेत नागरिकका लागि शोभनीय नहुने बताए । सर कारको नीति अनुसार नारायणी यातायात व्यवसायी सङ्घद्वारा कम्पनी प्रालिमा रुपान्तरित पुरानो नारायणी यातायात प्रालिको प्रथम वार्षिक साधारणसभामा मन्त्री जम्कट्टेलले करको दरमा वा प्रक्रियामा असहमतिहरु भए राज्यसमक्ष वैधानिक तरिकाले प्रस्तुत गर्न अनुरोध गरे ।

जम्कट्टेलले देशको वर्तमान आर्थिक अवस्था अत्यन्तै सुधारोन्मुख भएको हुँदा सरकारले देखेका सपना यथार्थमा परिणत हुने दिन चाँडै आउने बताए। कार्यक्रमका वाग्मती प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बाँनियाले यातायात व्यवसायीले राज्यको प्रचलित कानूनको अधिनमा रही गठन गरेका सङ्घसंस्था प्रति सम्मानजनक व्यवहार गरिनुपर्ने बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्य कुमारी मोक्तान, प्रेमबहादुर पुलामी, मुनु सिग्देल, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल लगायतले यातायात क्षेत्र राज्यको नियम कानूनको ख्याल गर्दै अगाडि बढ्नु पर्ने तथा सरकारले पनि यस क्षेत्रका अप्ठ्याराको पहिचान गरेर त्यसको समाधानका लागि पहल गर्नुपर्ने बताएका थिए ।

यो पनि, भरतपुर विमानस्थल विस्तारबारे सर्वपक्षीय छलफल : चितवनस्थित भरतपुर विमानस्थल विस्तारको कार्यलाई प्रभावकारी रूपमा अघि बढाइनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय को आयोजनामा भरतपुर विमानस्थल विस्तारको सम्भावना र चुनौतीको विषयमा आज भएको सर्वपक्षीय छलफलका वक्ताले देशकै मध्यभागमा रहेको विमानस्थलको विस्तार र स्तरोन्नति गरिनु अपरिहार्य भएको बताए ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, पर्यटनमन्त्री योगेशकुमार भट्टराई, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, विभिन्न मन्त्रालयका सचिव, नेपाली सेनाका उच्च अधिकारी लगायतको सहभागिता थियो । नेकपाका अध्यक्ष प्रचण्डले देशकै मध्यभागमा रहेको भरतपुर विमानस्थलको विस्तार र स्तरोन्नति अनिवार्य भएको बताउँदै सरोकारवाला मन्त्रालय र निकायको समन्वयमा भइरहेको कार्यप्रति खुशी व्यक्त गरे ।

अध्यक्ष प्रचण्डले चितवनको बढ्दो तीव्र शहरी करणले सुरक्षित र व्यवस्थित विमानस्थल अनिवार्य भएको बताए । उपप्रधान मन्त्री पोखरेलले भरतपुर विमानस्थल विस्तारमा रक्षा मन्त्रालय र नेपाली सेनाले पूर्ण रूपमा सहयोग गर्ने बताए भरतपुर विमानस्थल विस्तारका लागि नेपाली सेनाको घोडा प्रजनन केन्द्र र कालीबहादुर गणको जग्गालाई प्रयोग गर्नुपर्ने सन्दर्भमा रक्षामन्त्री पोखरेलले उक्त कुरा बताए ।

कार्यक्रममा पर्यटनमन्त्री भट्टराईले भरतपुर विमानस्थल विस्तार तथा स्तरोन्नतिका लागि मन्त्रालयले तत्काल काम अघि बढाउने बताए । सम्बन्धित मन्त्रालय, सरोकारवाला निकाय, स्थानीय तह सबैसँग समन्वय र समझदारी गरेर काम अघि बढाइने उनको भनाइ थियो । भरतपुर महानगर पालिकाका प्रमुख दाहालले भरतपुर विमानस्थल नेपालको केन्द्र भागमा रहेको भन्दै यसलाई वाग्मती प्रदेशको मुख्य विमानस्थलको रुपमा विकास गरिनुपर्नेमा जोड दिइन् ।

उनले चितवन शैक्षिक तथा ‘मेडिकल हव’को रुपमा विकास भइरहेको भन्दै विमानस्थलको प्रयोग अत्यधिक बढिरहेको बताइन्। छलफल कार्यक्रममा भरतपुर विमानस्थल विस्तार तथा स्तरोन्नतिको आवश्यकता प्राविधिक तथा सामाजिक आर्थिक पक्षको समेत अध्ययन गर्न बनेको कार्यदलका संयोजक तथा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्