रगंशाला निर्माणका लागि हुने महायज्ञबाट ५० करोड बढी उठ्छ : धुर्मुस

चितवन : धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले गौतम बुद्ध अन्तर्र्रािष्ट्रय क्रिकेट रंगशाला निर्माणार्थ हुने धनधान्याचल महायज्ञबाट ५० करोड भन्दा बढी संकलन हुनेमा आफू ढुक्क रहेको बताएका छन् । चितवनको राम पुरमा निर्माणाधीन अन्तर्र्रािष्ट्रय क्रिकेट रंगशालालाई आर्थिक सहयोग जुटाउन हुन लागेको महायज्ञमा सबैले मनदेखि नै सहयोग गर्ने भएकोले सो रकम संकलन हुने उनले बताए ।

रंगशाला निर्माण चितवनको मात्र नभई सिंगो देशको नै अभियान भएकोले सबैले सहयोग गर्ने उनको भनाइ छ । ‘यो सिंगो देशको प्रतिष्ठाको अभियान हो र यसमा ७७ वटा जिल्लाको ७७ वटै कक्ष हुने भएको कारण राष्ट्रव्यापी रुपमा नै महायज्ञमा सहभागिता हुने भएकोले ५० करोड बढी उठ्ने विश्वास छ’, उनले भने । उनले चितवनबासी सबैले यो अभियानमा साथ र सहयोग गर्ने भएकोले पनि लक्षित रकम उठान समस्या नहुने बताए ।

‘चितवनबासीले एकै चोटी साथ र सहयोग गर्दै हुनु हुन्छ’ उनले भने ‘त्यसैले ५० करोड बढी उठ्छ। ’जिल्ला भित्र गठन भएका सहयोग समितिहरुको आँकडाले पनि लक्षित रकम संकलन हुनेमा दुई मत नरहेको उनको भनाइ छ। महायज्ञ अघि मैदानको आकार तयार भइसक्ने भएकोले यसले थप टेवा पुग्ने उनको विश्वास छ । यस्तै उनले महायज्ञमा सहभागी भई सहयोग गर्न सबैलाई आग्रह समेत गरेका छन् ।

निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंग शालालाई आर्थिक सहयोग जुटाउन माघ १९ गतेदेखि २६ गतेसम्म धन धान्याचल महायज्ञ हँुदैछ । महायज्ञमा पण्डित दिन बन्धु पोखरेल प्रमुख बाचकको रुपमा रहने छन् । महायज्ञ सफल बनाउनका लागि सांसद विजय सुवेदीको संयोजकत्वमा एक हजार १११ सदस्यीय मूल आयोजक समिति गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस्