अधुरै रह्यो गरिब परिवारमा जन्मिएका केशरको कोरिया गएर घरको आर्थिक स्थिति सुधार्ने सपना

सुर्खेत : कालिकोट महावै गाउँ पालिका-३ सिमखेतका २० वर्षीय केशरसिंह ठकुरीको कोरिया जाने सपना थियो। विपन्न परिवारमा जन्मिएका उनले कोरियामा गएर घरको आर्थिक स्थिति सुधार्ने सपना देखेका थिए। कोरिया जानकै लागि उनी सुर्खेत झरे। घरको जेठो सन्तान भएका कारण उनीमाथि घर खर्च चलाउने जिम्मेवारी थियो। गाउँमै कक्षा १२ सम्मकाे अध्ययनपछि रोजगारीको खोजीमा लागे उनी।

सुर्खेत झरेपछि उनले रोजगारीका लागि केही समय इन्डियन आर्मीको पनि तयारी गरे। तर, आर्मीमा सफल हुन सकेनन्। इन्डियन आर्मीमा असफल नभएपछि उनले कोरिया जाने सपना बुने। कोरिया जानकै लागि विरेन्द्रनगरमा बसेर कोरियन कक्षा लिन थाले। उन का दाइ कलमकुमार सिंहका अनुसार केशर मंगलबार घरमा पुर्‍याउने सामान लिन बजार आएका थिए। घरमा पठाउने सामान लिएर बागेंसिमल तर्फ फर्कँदै गर्दा भे१ख २२४२ नम्बरको टिप्परले उनको कोरिया सपना सदाका लागि समाप्त पारिदियो। टिप्परले उनको आधा शरीर नै क्ष’तविक्षत पारिदियो।

केशरको ज्यान लिने टिप्पर चालकलाई कारबाहीको माग गर्दै उनका आफन्तले दिनभर विरेन्द्रनगरमा प्र’दर्शन गरे। परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै उनीहरुले ठाउँठाउँमा प्रदर्शन गरे। तर प्रशासनले बल प्रयोग गरेर केशरको शव प्रदेश अस्पतालमा पुर्‍यायो। बल प्रयोग गरेर शव उठाएपछि विरेन्द्रनगर थप तनावग्रस्त बनेको छ। स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले गोली प्रहार गरेको छ भने सुर्खेतमा क’र्फ्यू नै लगाएको छ।

प्रतिक्रिया दिनुहोस्