यथास्थितिको लकडाउन साउन ७ सम्म थप्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले लक डाउनलाई साउन ७ गतेसम्म जारी राख्ने निर्णय गरेको छ । हाल कायम रहेको व्यवस्थालाई यथावत राखी साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति सम्म बसेको मन्त्रिपरिषद् बैठकले हाल जारी खुकुलो लकडाउनलाई आगामी साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

कोरोना संक्रमणको दर बढ्दै गएकाले अहिलेलाई यही शैलीको लकडाउनलाई साउन ७ सम्म निरन्तरता दिने निर्णय भएको उनले बताए। ‘स्वास्थ्य सतर्कता अपनाउन जरुरत रहेकाले यथास्थितिको लकडाउनलाई लम्ब्याइएको हो’ उनले भने । यद्यपी निश्चित ठाउँकाे जाेखिम अनुसार स्थानीय र प्रदेश सरकारले नै लकडाउन खुकुलो र कडा पार्न सक्नेगरी निर्णय भएकाे अर्का एक मन्त्रीले बताए।

ती मन्त्रीले भने, ‘काेराेनाकाे जाेखिम अवस्था हेरेर लकडाउन खुकुलाे या कडा गर्ने बारेकाे निर्णय प्रदेश र स्थानीय सरकारले नै गर्नेछन्।’ सरकारले यसअघि असार १ देखि लागू हुनेगरी लकडाउनलाई खुकुलो बनाएको थियाे। जस अनुसार निजी सवारी साधन जोर विजोर प्रणालीबाट सञ्चालन भइरहेका छन् भने सार्वजनिक सवारीसाधन तथा उद्दार बाहेकका हवाई उडान बन्द छन्।

त्यस्तै सीमित बजार पसलहरु सञ्चालन भए पनि भीडभाड हुने सिनेमा हल, सपिङ मल, शैलुन, पार्लर, विद्यालयजस्ता क्षेत्रहरु बन्द अवस्थामा छन्। को’रोना भाइरसका कारण गत चैत ११ गतेदेखि लागू हुनेगरी लकडाउन घोषणा गरिएको हो। लकडाउनलाई क्रमि क रुपमा खुकुलो बनाउँदै जानेगरी यसअघि सरकारले विभिन्न चरणका योजनाहरु सार्वजनिक गरेको थियो। तर दैनिक कोरोनाका संक्रमित बढ्दै गएपछि २१ दिनसम्म कायम राख्ने भनिएको हाल कायम चरणको लकडाउन अवधि लम्बिने भएको हो।

प्रतिक्रिया दिनुहोस्