सीमा सुरक्षा पोष्ट थप्दै सशस्त्र प्रहरी : दक्षिणमा अढाई किलोमिटरको दूरीमा २१६ र उत्तरमा पाँच वटा राखिने

काठमाडौँ, असार १५ गते । नेपालको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (सीमा सुरक्षा चाैकी–बीओपी) को सङ्ख्या तत्काल २२१ पुर्याइने भएको छ । गृह मन्त्रालयका अनुसार, दक्षिण तर्फको नाकामा कम्तिमा २ दशमलव ५ किलो मिटरको दूरीमा २१६ र उत्तरमा पाँच गरी २२१ पु-याउने तयारी गरिएको हो ।

सशस्त्र प्रहरी बलले प्रस्ताव गरेको २२२ वटा बीओपी मध्ये बन्दाबन्दीको अवधिमा २२ वटा नयाँ थपिएका छन् । हाल, १३३ सञ्चालित र ८९ वटा नयाँ स्थापनाको अन्तिम चरणमा छन्। यसका लागि करिब १० हजार जन शक्तिको माग गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । बीओपी स्थापनाले सीमा सुरक्षाका अतिरिक्त अवैध चोरी, तस्करीलगायत अपराध नियन्त्रण हुने अपेक्षा गरिएको छ ।

नेपाल–भारत–चीन त्रिदेशीय सीमा सुरक्षाको जिम्मेवारी निर्वाह गर्दैआएको सशस्त्र प्रहरी बलले दार्चुलाको छाङरुमा नयाँ बीओपी स्थापना गरेसँगै उत्तरी नाकामा चार वटा पुगेको छ। हुम्लाको हिल्सा, मुस्ताङ कोरोला र सङ्खुवासभाको किमाथाङ्कामा सीमा सुरक्षा पोष्ट स्थापना भएका छन् । ती पोष्टहरूमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २५-३० जनाभन्दा माथिको जनशक्ति परिचालन हुने गरेको छ ।

आफ्नै भौतिक संरचनाको अभावमा अधिकांश बीओपी भाडाको घर तथा भवन तथा त्रिपालभित्रबाट सञ्चालन हुँदै आएका छन् । ताप्लेजुङको ओलाङचुङगोला, बझाङको धुली, दोलखाको लामाबगर र सिन्धुपाल्चोकको तातोपानी नाकामा तत्कालै नयाँ बीओपी निर्माण गर्नुपर्ने आवश्यकता रहेको सशस्त्र प्रहरी प्रवक्ता प्रविनकुमार श्रेष्ठ बताउनुहुन्छ ।

भारतसँगको सीमासँग जोडिएका सीमा नाकामा १२९ बीओपी छन् । वर्षायामको सुरुवातसँगै दक्षिणतर्फ रहेका कतिपय बीओपीहरू बाढी र डुबानका कारण विस्थापित हुने गरेका छन् । हिउँदमा उत्तरी नाकाको विस्थापित हुने गर्छन् । गोरखापत्र दैनिकमा खबर छ।

प्रतिक्रिया दिनुहोस्