नेपालको निमन्त्रणा अस्विकार, मोदी नेपाल नआउने

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल नआउँने बताइएको छ । नेपालले आगामी चैत तेस्रो साताका लागि तय गरेको ‘सगरमाथा संवाद’ मा भारतीय प्रधान मन्त्री मोदी सहभागी नहुने स्पष्ट भएको छ । मोदीले नेपालको राजकीय भ्रमण गर्ने चाहना राखेपछि संवादमा सहभागी नहुने उच्च कूटनीतिक स्रोतले जानकारी दिएको छ ।

सगरमाथा संवादका लागि नेपालका तर्फबाट मोदीलाई निमन्त्रणा गरिएको पुष्टी गर्दै काठमाडौंमा परराष्ट्र स्रोतले भन्यो ‘उहाँ (मोदी)को विभिन्न कार्यतालिका नियालेर मात्रै भ्रमण तय हुन्छ, संवादमा भन्दा पनि अन्य समयमा नै नेपाल भ्रमणमा होला ।’ संवादमा मोदी सहभागी नहुने भएपछि भारतबाट सकेसम्म उच्चस्तरकै सहभागिताका लागि प्रयास गरिरहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

भारतीय प्रधानमन्त्रीको विदेश भ्रमणको निर्णय विभिन्न प्रक्रिया पछि निर्धारण गरिने भएकाले उपयुक्त समयमा नेपाल तर्फको सूची जानकारी गराइने भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ । भारतीय अधिकारीका अनुसार फागुन लागे लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत भ्रमण गर्ने निधो भइसकेकाले त्यसबारेमा आवश्यक तयारी भइरहेको छ। ट्रम्पको भारत भ्रमण लगत्तै मोदी बंगलादेश जाने तयारीमा छन् । नेपालले सगरमाथा संवादमा सहभागी हुन भारतीय प्रधानमन्त्री मोदीसहित सार्कका सबै राष्ट्र एवं सरकार प्रमुखका साथै अन्य मित्रराष्ट्रलाई पनि निमन्त्रणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्