जन्मँदै छोरीलाई तीन लाख रुपैंयाँ

काठमाडौं । प्रदेश २ का आठै जिल्लामा अब छोरी जन्मनेवित्तिकै तीन लाखको बिमा हुनेछ ।‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत प्रदेश सरकारले गरिदिँदै आएको एक लाखको बिमामा रकम थपिदिएको हो। प्रदेश मन्त्रि परिषदको शुक्रबारको बैठकले बिमाका लागि दिने गरिएको रकम तीन लाख पुर्याउने निर्णय गरेको हो ।

नपढाउने र उमेर नपुगी बिहे गरिदिने चलनलाई फेर्न छोरीले परिवारबाट २० वर्षसम्म शिक्षा आर्जनको सुविधा पाएको खुलेपछि मात्रै बिमाको रकम भुक्तानी पाउनेछन् । ‘प्रदेश २ का छोरीहरु अब जन्मनेवित्तिकै तीन लखिया हुने छन्,’ मुख्यमन्त्री लालबाबु राउतले भने, ‘छोरी बोझ होइनन्, शिक्षा र राम्रो व्यवहार गरे छोरासरह नै काबिल हुनेछन् ।’ कान्तिपुर दैनिकमा खबर छ ।

प्रदेश सरकारले २०७५ माघयता जन्मिएका छोरीहरूको बिमा गर्दै आएको छ । प्रभु बैंकको सहकार्यमा ४ हजार ३ सय ७३ जनाको बिमा भइसकेको छ । थप ३ हजार १ सय १८ जनाको बिमा गर्ने कागजात मुख्य मन्त्री कार्यालयमा प्रक्रियामा छ । गत फागुन ९ मा वीरगन्जबाट राष्ट्रपति विद्यादेवी भण्डारीले छोरी बिमा अभियानको शुभारम्भ गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्