श्रीमतीलाई भावुक पत्र, ‘अरु जे होस्, मेरो पसिनाको मूल्य फिर्ता देऊ’

प्रिय मनिषा, मीठो सम्झना

तिम्रो नाममा कोरिरहेको यो पत्र कसरी सुरु गरुँ, आफैँ दोधारमा छु । यो कुनै प्रेम पत्र होइन कि यसमा मायाका कुराहरु हुनेछ। यो त केवल आग्रहपत्र हो, जसमा तिम्रो नाममा मैले आफ्ना मनका बहहरु पोख्दैछु। मनिषा, तिमी मैले माया गरेको मान्छे । अनि म तिमीले माया गरेको । एक–आपसमा माया गर्ने क्रममा हामीबीच कैयन् माया अनि प्रेमका कुराहरु भयो होलान्, कैयन् सुख दुखका कुराहरु पनि भयो ।

तर, आज म तिम्रो नाममा एउटा आग्रह पत्र लेख्दैछु, यो पत्र अन्तिमसम्म पढेर मेरो आग्रहलाई न्याय गर्नेछौँ, यसमा म विश्वस्त छु । महिना ठ्याक्कै याद छैन। ०६६ सालको एउटा महिना, झिसमिसे साँझमा तिमीसँग भेट भएको थियो मेरो । त्यही भेटले हामीलाई नजिक बनायो । ०६६ सालदेखि नै हामी प्रेम सम्बन्धमा रह्यौँ । प्रेम सम्बन्धमा रहँदा–रहँदै म मलेसिया गए । मलेसिया हुँदा पनि तिमी र म बीच उति नै कुराकानी भइरहेको थियो । मैले तिम्रो अनि तिमीले मेरो सञ्चो बिसञ्चो दैनिक रुपमा सोधेकै हो ।

मनिषा, मलेसियामा ४ वर्ष निरन्तर पसिना बगाएपछि म नेपाल फर्के । नेपाल फर्केपछि बिहे गर्ने तिम्रो र मेरो सहमति थियो नै । २०७२ साल वैशाख ०१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा ओर्लिदा मनमा उत्साह थियो, अनि हर्ष पनि । किनकी तिम्रो र मेरो भेट मात्रै हुँदै थिएन, हाम्रो विवाह पनि हुँदै थियो । मेरो त्यो खुसी १० वैशाख २०७२ मा पूरा भयो ।

अर्थात् यही दिनमा हामीले हाम्रो प्रेम सम्बन्धलाई सामाजिक रुपमा विवाहमा परिणत गर्यौ । त्यतिबेला मैले तिमीलाई पाउँदा आफ्नो जीवन पाएको अनुभूति गरेको थिए । किनकी तिमी मेरो खुसी थियौँ, प्राण थियौँ । घरमा राख्दा तिमीलाई दुख हुन्छ भन्ने सोचेर मैले तिमीलाई काठमाडौँ बालुजाको ढुंगेधारामा ल्याए । अनि, तिमी र म कोठा लिएर बस्यौँ । १ वर्षसम्म हामी सँगै रह्यौँ । त्यसपछि तिम्रै सल्लाहमा म कतार हान्निए ।

२०७३ सालको भदौमा तिमीलाई छाडेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र छिर्दै गर्दा मन गहु्रगो थियो । मन भारी थियो । तिमीलाई छाडेर जाने मन थिएन, तर पैसा नै सबथोक हो भन्ने तिम्रो सुझाव मानेर विदेशिनु बाहेक मसँग विकल्प थिएन, मनिषा । कतार जाँदा मैले तिमीलाई ३ लाख रुपियाँ छाडेको थिए । कतारमा मेरो कमाई राम्रै थियो । तिम्रो र मेरो हाई हेल्लो पनि राम्रै थियो ।

मैले कमाएको रकम तिम्रै नाममा पठाएको पनि थिए । यही बीचमा तिमीले हाम्रो लागि घडेरी जोड्ने इच्छा राखीँ । मैले पनि तिम्रो इच्छाअनुसार चितवनको पार्वतीपुरमा जग्गा किन्न अनुमति दिए । त्यो जग्गा तिम्रो नाममा पास पनि भयो । हामीले १० लाखमा उक्त जग्गा किन्यौँ । खुसीहरु बढ्दै थियो, आकांक्षा र चाहाहरु पूरा हुँदै थियो । यहीबीचमा १९ महिनापछि फेरि म नेपाल फर्के मनिषा ।

नेपाल फर्केर अब तिमीसँगै बस्छु र दुख गर्छु भन्ने हेतुका साथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २०७५ साल चैत ०२ गते ओर्लिए। जब मैले विमानस्थलमा पाइला टेके, त्यतिबेला मेरो मनमा तिम्रोबाहेक अरु कुनै सम्झना थिएन, मेरो मानसपटलमा केवल तिमी थिए तिम्रो अनुहारका आकृतिहरु नाचिरहेका थिए । म नेपाल फर्केपछि हामी १ महिना सँगै रह्यौँ । श्रीमान–श्रीमती न हो, मैले तिमीलाई दिएको पैसा केके भयो ? भनेर सोधे ।

र, यहीबाट तिम्रो र मेरो झगडा सुरु भयो। २०७५ साल जेठ १० गते तिमी मसँग छुट्टिएर गयौँ । कारण उही मात्र थियो, मैले तिमीलाई पैसा केके भयो भनेर सोधेको थिए । यति सोधेपछि भड्किएकी तिमी कोठामा दाई भाउजुसँग आएर सबै आधा सामान लिएर गयौँ । मनिषा, मैले हामी श्रीमान–श्रीमती हौँ, मिलेर बस्नुपर्छ भन्दा तिमीले बारम्बार मलाई तिमीले मलाई तिमी मेरो श्रीमान होइन भन्यौँ ।

सार्वजनिक ठाउँहरुमा कैयौँ पटक प्रमाण माग्यौँ । म आज तिमीलाई यही पत्रमार्फत् भन्न चाहन्छु, हाम्रो विवाहको सबैभन्दा ठूलो प्रमाण त त्यही हो,कि हाम्रा आफन्त र सारा गाउँलेजनका समक्ष तिम्रो सिउँदोमा मैले सिन्दुर हालेको छु, दुनियाँले यसको फोटो खिचे का छन्, देखेका छन्, हामीसँग पनि प्रशस्तै फोटोहरु नभएको होइन । तर, तिमीले कानुनी रुपमा विवाह दर्ता भएको कागज माग्यौँ ।

विवाहदर्ता हाम्रो नभएकै हो तर हाम्रो विवाह नभएको होइन । मलाई आफ्नो श्रीमान नठान्ने तिमीले काठमाडौँ गौशाला प्रहरी चौकीमा मसँग आधा सम्पति दावा गर्दै मुद्दा हालेकी रहेछौँ। चितवनमा तिम्रो नाममा भएको त्यो जग्गा आफन्तको नाममा पास गरिदिएछौँ । तिमीलाई मैले दिएका केही नासोहरु पनि बेचिछौँ । तिमीले अरु केके गर्यौ म केही भन्दिन । बस्, मनिषा, मलाई यति भन्नु छ, विदेशमा ५० डिग्रीको घाममा रगत र पसिना बगाएर कमाएको पैसा फिर्ता गरिदेउ ।

खाडीमा मैले बगाएको पसिनाको मूल्य फिर्ता देऊ । तिम्रो जीवनको बाँकी बाटाहरुमा म तगारो बन्दिन, तर मैले पसिना बगाएर कमाएको पैसा फिर्ता देऊ । मेरो यो आग्रहलाई सुनिदेऊ, मनिषा । उही तिम्रो अभागी श्रीमान, दिपक देवकोटा, गोरखा अजिर कोट गाउँपालिका वडा नं. ६, यो कथा सत्य कथामा आधारित छ । उज्यालो नेटवर्कबाट

प्रतिक्रिया दिनुहोस्