ल्याण्डफिल्ड साइट निर्माणमा अबरोध भएपछि कम्मर कसेर बन्चरेडाँडा पुगे राज्यमन्त्री

काठमाडाैँ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि निर्माणधिन बन्चरे डाँडा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माणमा फेरि अवरोध आएपछि सहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले निर्माण स्थलको फेरि छड्के अनुगमन गरेका छन् । उपत्यकाको फोहर व्यवस्थापनमा कोषेढुंगा मानिएको नुवाकोट र धादिङको सीमानामा पर्ने बन्चरेडाँडामा निर्माण कार्य थप्प भएपछि मन्त्री मानन्धर सडक विभागका इन्जिनियरहरुसहित निर्माण स्थल पुगेका हुन् ।

बन्चरेडाँडालाई मेलम्ची-२ बनाउन खोज्नेहरु सलबलाईरहेको बताउँदै मन्त्री मानन्धरले राज्यको लगानीमाथि खेलवाड गर्नेहरुलाई का’रबाही गरिछाड्ने बताएका छन् । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न र प्रधान मन्त्रीको सपना साकार पार्न यो परि योजना तोकिएकै समयमा सक्नुको विकल्प नभएको बताउँदै मन्त्री मानन्धरले आयोजनालाई दुहुनो गाई बनाउन खोज्नेहरुको नाम सार्वजनिक गर्ने चेतावनी दिएका छन् ।

‘मेलम्ची खानेपानी आयोजना सकिन कति वर्ष लाग्यो? यस अघि दर्जनौं सरकार आए, तर कम्युनिस्ट सरकारहरु नै जनताप्रति उत्तरदायी भएर काम गरेको ईतिहाँस छ ।’ मन्त्री मानन्धरले भने- ‘ चरेडाँडालाई पनि मेलम्ची कै हालतमा पुर्याउन खोज्नेहरु सलबलाई रहेका छन् । अब मेलम्चीको पानी काठमाडौंमा आउन रोक्नेहरुको र बन्चरेमा फोहर व्यवस्थापनमा अवरोध गरेर उपत्यकालाई सर्वसम्पन्न सहर निर्माण हुन नदिनेहरुको दिन सकिए ।

किनकी नेपालमा नेकपाको सरकार छ । हामी जनताको सेवक हौं ।’ मन्त्रीसहितको टोली पुग्दा निर्माण स्थलमा क्रसर उद्योगले गिटी, बालुवा र ढुंगा पैठारी गरिरहेको पाईएको छ । ल्याण्डफिल्ड साइट निर्माण गरिरहेको सहरी विकास तथा भवन निर्माण विभागको हेलचक्राईंका कारण निर्माण स्थलमा अवरोध आएको स्थानीयले आरोप लगाएका छन् । गत पुस पहिलो साता मन्त्री मानन्धरसँगै बन्चरेडाँडा पुगेका सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलाल र आयोजना निर्देशक पदम मैनालीले फागुन पहिलो साताभित्र फोहर व्यवस्थापन गर्नेगरी तीन सिफ्टमा काम गर्ने प्रतिवद्वता जनाएका थिए ।

तर विभागकै कारण काम रोकिएपछि स्थानीय थप आक्रोशित बनेका छन। सोमबार मध्यान्ह मन्त्री मानन्धरसँगै सडक डिभिजन कार्यालय काठमाडौंका डिजी कुबेर नेपाली, इन्जिनियर अशोक शाक्य र मधुसुदन लामिछाने पनि पुगेका थिए। बन्चरेडाँडासम्म पुग्ने सडक पिच तत्काल गर्नेगरी काम अघि बढाइएको नेपालीले बताए । बन्चरेडाँडा पुग्ने छोटो दुरीको सडक निर्माणका बारेमा पनि अध्ययन थालिने छ ।

उपत्यकाको फोहर व्यवस्थापनमा चासो दिँदै आएका मन्त्री मानन्धरले कामलाई तिब्रता दिन आयोजना प्रमुखसहित ठेकेदार कम्पनिलाई पटक पटक निर्देशन दिएका छन। मन्त्री मानन्धर गत बिहीबार पनि एक्लै आयोजना स्थल पुगेका थिए। मन्त्री मानन्धरले आयोजना स्थलमा देखिएको अवरोध अन्त्यका लागि पहल स्वरुप बन्चरेडाँडा गएको बताए । ठेकेदारले काम रोकेको खबर पाएपछि अनुगमनमा गएको बताउँदै मन्त्री मानन्धरले आयोजना सम्पन्न गर्नका लागि बजेटको अभाव नभएको बताए ।

‘सहरी विकास तथा भवन निर्माण विभागका अधिकारीहरुले बजेट अभाव नभएको बताए पनि नियोजित रुपमा काम रोकिएको छ ।’ मन्त्री मानन्धरका प्रमुख स्वकिय सचिव ओम राजबाहकले भने- ‘काम रोक्ने ठेकेदार र आयोजना प्रखुखसँग मन्त्रीज्युले स्पष्टिकरण लिने तयारी गर्नु भएको छ ।’ ‘प्रधानमन्त्रीले काठमाडौंको फोहर व्यवस्थापन दिर्घ कालिन रुपमा समाधान हुने यो आयोजनालाई तिब्र रुपमा अघि बढाउन निर्देशन दिनुभएको छ’ मन्त्री मानन्धरले भने- ‘आयोजना प्रमुखहरुले गलत रिपोर्टिङ गर्ने र ठेकेदारले काम रवक्ने दोहोरो चरित्र देखियो । अब कारबाहीको प्रक्रिया अघी बढाउँछु ।’

आफु मन्त्री भएपछि पाँच पटक आयोजनाको अनुगमन गरि सकेको बताउँदै मन्त्री मानन्धरले संघीय राजधानी काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनमा बाधा उत्पन्न गराउनेको र अनावश्यक बखेडा निकालेर काम रोक्नेहरुलाई का’रबाहि गर्ने बताए । कम्तिमा सय वर्षका लागि उपत्यकाको फोहर व्यवस्थापन गर्न सकिनेगरी निर्माणाधिन बन्चरेडाँडा ल्याण्डफिल्ड साइटको पहिलो फेज फागुन पहिलो साता भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

स्थानीयसँग निरन्तर सम्पर्कमा रहेको बताउँदै मन्त्री मानन्धरले हाल स्थानीय आयोजनामा देखिएको अवरोध अन्त्यगर्न सहमत भइसक्दा पनि काम रोकिनु गलत भएको बताए। योजना निर्माणको पहिलो चरणको लागत ३४ करोड ६८ लाख रुपैयाँ रहेको छ। आयोजना सम्पन्न गर्न सरकारले १ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । बन्चरेडाँडा स्यानेटरी ल्याण्डफिल्ड साइट निर्माणको लागि सरकारले स्थानीयको १७ सय रोपनी जग्गा अधिग्रहण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्