शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द, रेष्टुरेन्ट तथा होटलमा बसेर नखानु : सरकार

काठमाडौं, २७ साउन । को’रोना महामारीको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरेको छ। सरकारका प्रवक्ता युवराज खतिवडा अनुसार अर्को सूचना जारी नभएसम्मका लागि शैक्षिक संस्था बन्द गरिएको हो । प्रवक्ता खतिवडाले मंगलबार मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्दै शैक्षिक संस्था, सैलुन, पुस्तकालय, सेमिनार, पार्टी प्यालेस अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहने निर्णय भएको जानकारी दिनुभयो ।

काठमाडौं उपत्यका र दुई सय भन्दा बढी को’रोना सं’क्रमित भएका जिल्लामा जनतासँग प्रत्यक्ष जोडिएर दिइने सेवा प्रवाहका काम सके सम्म घरबाटै गर्ने व्यवस्था मिलाउनका लागि पनि उहाँले आग्रह गर्नु भएको छ । यसका साथै उहाँले सरकारी तथा गैरसकारी संस्थामा ५० प्रतिशत कर्मचारीमात्रै कार्यालयमा आउने र बाँकीले घरबाटै काम गर्ने व्यवस्था सम्बन्धित कार्यालय प्रमुखले मिलाउनका लागि आग्रह गर्नुभएको छ ।

यसैक्रममा सरकारले होटल तथा रेष्टुरेण्टमा बसेर खान नपाइने नियम पुनः लागू गरेको छ । यही साउन १५ देखि रेष्टुरेन्टमा बसेर खान पनि पाइने नियम लागू भएको पनि कोरोना महामारीको जोखिम ह्वात्तै बढेकाले पुनः टेक अवे मात्रै गर्न मिल्ने बनाइएको जनाइ एको छ । सरकारले १० वटा नाकाबाट मात्रै नेपाल आउन पाइने बताएको छ।

स्वदेश आउनै पर्ने नेपालीलाई स्थलमार्गबाट आउन यसअघि २० नाकाबाट प्रवेश दिइएकोमा अबदेखि १० नाकाबाट मात्रै नेपाल भित्रन दिइने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए। उनका अनुसार काकँडभिट्टा, रानी, माडर, गौर, वीर गञ्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, गौरीफन्टा र गड्डाचौकीबाट मात्रै नेपाल आउन पाइनेछ।

मन्त्रिपरिषदले गरेको यो निर्णय राजपत्रमा प्रकाशित भएपछि लागू हुने उनले बताए। यसअघि जेठ १२ को निर्णयमा २० नाकाबाट नेपाल प्रवेश गर्न सकिने निर्णय गरिएको थियो। त्यसमा मन्त्रिपरिषदले संशोधन गर्दै १० नाकामा झारेको हो । सीमा नाका भने भदौ ३१ गते बुधबारसम्म बन्द गर्ने निर्णय मन्त्रिपरिषदले गरेको खतिवडाले बताए। मालसामान ढुवानी र जोखिममा रहेका नेपालीलाई नाकाबाट आउन दिने उनले बताए।

प्रतिक्रिया दिनुहोस्