डाक्टर साच्चिकै भगवान हुन्, कोरोना भाइरसको उपचारमा खटेका डाक्टरको सुताइ देखेर सर्वसाधारण भावुक

काठमान्डौ : कोरोना भाइरसको संक्रमणले ग्रस्त चीनमा अहिले सबैभन्दा गाह्रो स्वास्थ्य कर्मीलाई छ । उनीहरु दिनरात नभनी बिरामीको उपचारमा खटेका छन् ।तर अन्न पानीको शरीर न हो, डाक्टरलाई पनि आराम चाहिन्छ, केही मिनेट नै सही निद्रा अपरिहार्य छ । तर बेफुर्सदका बीच उनीहरु जसरी आराम गरिरहेको भेटिएका छन्, त्यो देख्दा सर्वसाधारणको मन कुँडिएको छ ।

चीनको सामाजिक संजालमा आराम गरिरहेका डाक्टरहरुको तस्बिर पोष्ट गर्दै सर्वसाधारणले लेखेका छन्ः‘उनीहरु हाम्रो लागि लडिरहेका छन। उनीहरु भाइरससँग पैंठेजोरी खेलिरहेका छन्। उनीहरु अभिभावक हुन्, छोरा हुन्, छोरी हुन्। उनीहरुलाई सबैकुरा सफा र चिटिक्क भएको मनपर्छ। तर यो दुःखको घडीमा। यस्ता सुताईहरु जताततै देख्न सकिन्छ। उनीहरु डाक्टर र नर्स हुन्।

जब भाइरसको उत्पत्ति भयो। तब उनीहरुले सुरक्षार्थ क्वारेन्टाइन सुट लगाउन सुरु गरे। बिरामीलाई मृत्युबाट जोगाउँदै। उनीहरु आफैं पनि मृत्यु र भाइरससँग जुधि रहेका छन्। हामीहरुको उनीलाई सम्मान गर्नै पर्छ !’कोरोना भाइरसका कारण अहिलेसम्म चीनमा ३ सय ६१ को मृत्यु भइसकेको छ भने देशभरी १७ हजार २ सय ५ जना संक्रमित छन् । यसका साथै कोरोनाका २ हजार ८ सय २९ नयाँ संक्रमित भेटिएका छन् ।

सोमबार कोरोना भाइरसका कारण फिलिपिन्समा एक जनाको मृत्यु भएको छ । चीनबाहिर कोरोनाका कारण मृत्यु भएको यो पहिलो घटना हो ।त्यस्तै चीनले कोरोना भाइरसको संक्रमण सुरु भएको वुहानमा बनाएको नयाँ अस्पतालको आज उद्घाटन गर्दैैछ। कोरोना संक्रमितहरुको उपचारको लागि आठ दिनमा बनाइएको एक हजार शैयाको अस्पताल आज उद्घाटन हुने बीबीसीले जनाएको छ ।

बिरामीको उपचारका लागि सुबिधा सम्पन्न रहेको अस्पतालमा चिनियाँ सैनिकका १४ सय स्वास्थ्यकर्मीहरु खटिने छन् । उनीहरु यसअघि पनि कोरोना भाइरस संक्रमितहरुको उपचारमा संलग्न रहेको बीबीसीले जनाएको छ । यस्तै चीनले १० हजार शैयाको अर्को अस्प ताल पनि बनाइरहेको छ ।दोश्रो अस्पताल पनि बुधबार बनिसक्ने र नयाँ अस्पतालमा सेवा सुरु भएपछि कोरोना संक्रमितहरुको उपचारका लागि पर्याप्त हुने बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्