एउटै खोलामा दसवटा जलविद्युत् आयोजना

इलाम । एउटा खोलामा कतिवटासम्म जलविद्युत् आयोजना निर्माण हुन सक्छन् ? जोकोहीलाई यसको सजिलो जवाफ दुई अथवा तीन भन्ने लाग्न सक्छ, तर इलामको एउटै मात्र माईखोलामा कुल दसवटा जलविद्युत् आयोजना निर्माण हुँदैछन् । यसमा यसअघि सातवटा विद्युत् आयोजना निर्माण सम्पन्न भएर उत्पादन नै सुरु गरेका छन्, अब तीनवटा आयोजना पनि एक वर्षभित्र सम्पन्न हुनेगरी धमाधम निर्माणको काम हुँदैछ ।

पछिल्लो पटक इलाम नगरपालिका र सोयाङबीच पर्ने बीसहातेमा माईखोला हाइड्रो पावरको तीन मेगावाटको सुपरमाई क्यासकेट र ९ दशमलव ८ मेगावाटको माइबेनी हाइड्रोपावरको निर्माण भइहेको छ । यस्तै सुम्बेक र प्याङबीच पर्ने सोमबारे बेँसी छेउमा पनि ९ दशमलव ६ मेगावाटको सगरमाथा जलविद्युत् कम्पनीको सुपरमाइ–ए हाइड्रो पावरको काम भइरहेको छ ।

यसअघि माईखोलामा सुलुबुङ– माइमझुवा– माबु बीचमा १२ मेगावाटको अपरमाइ हाइड्रो पावर र त्यसकै छ मेगावाटको क्यासकेट सञ्चालनमा छन। बरबोटे र सोयाङ बीच माईखोलाको दूधाङ बेँसीमा ७ दशमलव ८ मेगावाटको सुपरमाइ हाइड्रोले गत वर्षदेखि उत्पा दन सुरु गरेको छ । माईखोलाकै राजदुवाली नजिक हिमाल दोलखा जलविद्युत् आयोजना ७ दशमलव ५ मेगावाट र चिसापानीमा २२ मेगावाटको सानिमा माई हाइड्रो पावर तथा त्यसको आठ मेगावाटको क्यासकेट सञ्चालनमा छन् ।

राजदुवाली माथि मेची राजमार्गको सिलपुरबाट माइबेनी शिवालय हुँदै निर्माणाधीन माइबेनी हाइड्रो पावरबाट खोलैखोला कच्ची सडकसमेत विस्तार भएको छ । यहाँबाट सुरु भएको मोटरेवल सडक अपरमाई हाइड्रो भएर जिल्लाको उत्तरी क्षेत्र जमुनासम्म जोडिएको छ । अपरमाईले प्रयोग गरेको पानीबाट निर्माणाधीन माईबेनी, सुपरमाई, सुपरमाई क्यासकेट र सगरमाथा चारवटै हाइड्रो सञ्चालन हुने माईबेनी हाइड्रो पावरका आयोजना प्रबन्धक राजेन्द्रराज भारतीले बताउनु भयो ।

अहिले त यहाँ सडक सञ्जाल पनि जोडिएको छ, माईबेनीबाट पसेर अपरमाईसम्मको निरीक्षण अवलोकन गर्न सकिन्छ, भारतीले भन्नुभयो, यो क्षेत्रलाई विद्युत् कोरिडोरका रूपमा विकास गर्न सकिन्छ। भारतीका अनुसार माईबेनीको काम तीव्र गतिमा हँुदैछ। आयो जनाको काम ७५ प्रतिशत सम्पन्न भएको छ । एक हजार ७८ मिटरको एउटा सुरुङको अब २२ मिटर मात्र सुरुङ खोल्न बाँकी छ । दोस्रो सुरुङको १४ मिटरमा अब आठ सय मिटर खन्न बाँकी छ ।

यो पनि बढीमा दस दिनभित्र काम सम्पन्न हुने जनाइएको छ । पावर हाउसको काम पनि सकिएको भारतीले जानकारी दिनुभयो । ०७७ भदौबाट उत्पादन सुरु गर्ने लक्ष्य राखिएको आयोजनाको एक अर्ब ८६ करोडको लगानी रहेको छ । माईबेनीको गत असारबाट मात्र काम सुरु भएको थियो । सोमबारे बेँसी नजिक माईखोलामै निर्माणाधीन सुपरमाई–ए आयोजनाको काम पनि धमाधम छ ।

आगामी वैशाखसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाको हेडबक्स र पावर हाउस निर्माणको काम सकिएको आयोजना प्रबन्धक सन्तोष कार्कीले जानकारी दिनु भयो । वैशाखबाट व्यावसायिक उत्पादन सुरु हुन्छ, कार्कीले भन्नुभयो, अब तीन हजार सात सय मिटर हेडरेस पाइपमध्ये नौ सय १८ मिटर जडान गर्न बाँकी छ । गत वर्ष माघबाटै निर्माण सुरु गरिएको यो आयोजनाको ८० प्रतिशत काम सकिएको जनाइएको छ ।

एक अर्ब ७९ करोड रुपियाँ लागतमा निर्माण हुँदै गरेको आयोजनाका लागि ट्रान्समिसन लाइनको अब तीन किलोमिटर काम मात्रै बाँकी रहेको प्रबन्धक कार्कीले जानकारी दिनु भयो । सुपरमाईको क्यासकेटको पनि काम धमाधम भइरहेको छ । आगामी जेठ महिना भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजनाको पावरहाउस निर्माण धमाधम भइरहेको आयोजना प्रबन्धक मनोज भूर्तेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्