चिनको ग्रेटवालको झल्को दिने सिन्धुपाल्चोकको हिमालयन ग्रेट ट्रेल

काठमाडौं : ह्योल्मो परम्पराको धर्मचक्र पर्खाल अनुसार धमाधम बन्दै गरेको सम्भवतः ग्रेटवालको झल्को दिने ‘हिमालयन ग्रेट ट्रेल’ मा पुग्ने जोकोही दंग पर्छन् । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले हिमाली क्षेत्र घोप्टे घ्याङमा विश्वकै अग्लो चिनको ग्रेटवालको अनुसरण गरी बनाइरहेको ६० किलोमिटरमा एक सय १० मिटरको काम सकिसकेको छ।

हेलम्बु सरकारको ‘हिमालयन ग्रेट ट्रेल’ पुगेपछि वरिपरिका डाँडा र प्राकृतिक संरचनाले जसलाई पनि तान्छ। पर्यटकीय गुरुयोजना अन्तर्गत ठूलो योजना ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ को डीपीआर सके लगत्तै कामलाई तीव्र बनाइएको हेलम्बु गाउँ पालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले बताए। ‘लामो ग्रेट ट्रेलभित्रको दस किमिको सुरुवाती चरणमा हालै सिँढी, बिसौना, पेटीलगायत संरचनाको काम धमाधम हुँदैछ’ उनले भने ।

घोप्टेघ्याङमा एक सय १० मिटरको काम सकेर हालै नागिडाँडा– शेर्माथान र शेर्माथानबाट गुरु रेन्पोछे डाँडासम्म झन्डै चार सय मिटर संरचनाको काम थालिएको उनले सुनाए। हेलम्बुको बुद्धपार्कबाट सुरु हुने पर्यटकीय ट्रेल शेर्माथाङ–ज्योमथाङ हुँदै पाँचपोखरी थाङ पाल गाउँपालिका र हेलम्बुको सीमाक्षेत्र (ह्योल्मो परम्पराकी धनकी देवी) आमायांग्री क्षेत्रसँग जोडिनेछ।

त्यहींबाट ढुक्पु–भेमेथाङ अर्थात् (गुरु रेन्पोछे तपस्यास्थल)– पासाङसिरी– गुफुपोखरी– जलंसा– दवालाङ्गगुफा– सेमीसिदाङ्ग हिमाल क्षेत्रमा पुग्नेछ। ‘ग्रेटवाल घुमि सक्दा यहाँका अधिकांश धार्मिक स्थल परिक्रमा र हेलम्बुको सम्पूर्ण दृश्यको आनन्द उठाउन सकिने गरी बन्दै छ,’ उनले भने। इन्जिनियरिङ डिजाइनसहित ५० जना कामदारबाट हेलम्बु ट्रेलको ढुंगा कुँदेर सिंढी, बिसौनाको प्रारम्भिक काम तीव्र रूपमा भइरहेको खबर आजको कान्तिपुरमा अनिश तिवारीले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्