चुरोट बेचेर कमाएको नाफा रासकोट अस्पताल बनाउन सहयोग

चितवन। पश्चिमा मुलुकको प्रभावले गर्दा नेपालमा पछिल्लो समय जन्मदिन मनाउने शैली परिर्वतन भएको छ। जन्मदिनमा केक काट्ने, नजिकका साथीभाइ तथा आफन्तलाई खान पानमा सरिक गराउने जस्ता गतिविधि गर्ने प्रचलन पनि बढ्दो छ ।यसरि पश्चिमा मुलुकको प्रभावबाट आफ्नो जन्मदिन मनाउनेको भिडमा खर्च कटाएर सामाजिक क्षेत्रमा काम गर्नेपनि भेटिन्छन्

ती मध्यका युवा भरतपुर ४ लंकुमा दि ग्रीनपार्क रेस्टुरेन्ट सञ्चालन गरेका जोन कडेलले आफ्नो जन्मदिको अवसरमा विभिन्न परोपकारी काममा सहयोग गरेका छन् । भरतपुर ४ लंकूस्थित दि ग्रीनपार्क रेस्टुरेन्ट सञ्चालन गर्दै आएका उनले वर्षभरि बिक्री गरेको चुरोट बाट प्रति खिल्ली दुई रुपैया संकलन गरेर सामाजीक क्षेत्रमा खर्चिएका हुन ।विगतका वर्षमा जस्तै यसपटक पनि ‘दि ग्रीनपार्क रेष्टुरेन्ट’बाट यस वर्ष १३ हजार ७४४ खिल्ली चुरोट बिक्री गरेर आएको रकमबाट प्रतिखिल्ली दुई रुपैयाँका दरले २७ हजार ४८८ रुपैयाँ नगद संकलन गरेका थिए ।

यसरी संकलन भएको रकम सञ्चारकर्मी रवि लामिछानेद्वारा स्थापित ‘रवि लामिछाने फाउन्डेसन’को नेतृत्वमा निर्माण हुँदै गरेको रासकोट सामुदायिक अस्पताललाई सहयोग गरेका छन।उक्त अस्पताललाई सहयोग गर्दा कर्णाली क्षेत्रका विपन्न नागरिकले उपचार पाउने हुँदा यसपटकको सहयोग कालिकोट जिल्लामा निर्माणाधीन अस्पतालाई गरेको बताए । कंडेले आफू वर्षभरी साप्ताहिकरुपमा ब्रत बस्छन् र उक्त दिन एकसय रुपैयाँ बचत गर्छन्।

यसरी महिनामा चारसय रुपैयाँ जम्मा गरेर सामाजिक क्षेत्रमा खर्च गर्छन्।ब्रत बसेरै जम्मा गरेको रकम बराबर पाँच हजार दुईसय रुपैयाँ उनले आफ्नो जन्म दिनको अवसर पारेर शनिबार भरतपुरमा रहेको मानवसेवा आश्रमलाई सहयोगस्वरुप प्रदान गरेका हुन्। त्यति मात्र होइन, नारायणढस्थित नगर वन रोडमा रहेको ‘हाम्रो घरमा’ आश्रित बालबालिकाका लागि एकछाक खाद्यान्न पनि सहयोग गरे । नवलपरासीको देवचुलीस्थित भीमसेन हाइस्कुल एलुम्नाई एसोसिएसनले स्थापना गरेको छात्रवृत्ति कोषका लागि पाँच हजार एक सय रुपैयाँ सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्