अन्ततः चितवनमा नयाँ एसपीको सरुवा, गंगा पन्त पर्सामा

काठमाडौं : विगत १ महिनादेखि नेतृत्वविहीन रहेको जिल्ला प्रहरी कार्यालय चितवनका लागि प्रहरी प्रधान कार्यालयले नयाँ प्रहरी उपरीक्षक (एसपी) खटाएको छ। प्रहरी प्रधान कार्यालयले चितवन प्रहरी प्रमुखको रुपमा एसपी नातीराज गुरुङ लाई पठाएको छ । यसअघि एसपी गंगा पन्तको चितवन सरुवा गरिएपनि उनले रमाना भने लिन पाएकी थिइनन् ।

चितवन प्रहरी प्रमुख रहेका एसपी दान बहादुर मल्लको महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय काठमाडौंमा सरुवा गरिएपछि चितवनमा नयाँ एसपी गएका थिएनन् । प्रहरी प्रधान कार्यालयले गत गत पुस ९ गते सरुवा गरेपनि मल्लले भने झन्डै २ हप्ता पछि मात्रै चितवन छाडेका थिए । चितवन सरुवा गरिएकी एसपी गंगा पन्त भने अब जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख भएर जाने भएकी छन् ।

पर्सा प्रहरी प्रमुख सोमेन्द्रसिंह राठौरलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा सरुवा गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी अशोक सिंहको प्रहरी प्रधान कार्यालयअन्तर्गत इन्टरपोल शाखामा सरुवा भएको प्रहरी प्रधान स्रोतले जानकारी दिएको छ । प्रचण्डका पूर्वनिजी सुरक्षा अधिकृत (पीएसओ) मल्ललाई चितवनबाट रमाना लिन बाध्य बनाउन प्रदेश प्रहरी कार्यालयले लिखित निर्देशन नै पठाउनु परेको थियो ।

यस्तै, जिल्ला प्रहरी कार्यालय बारामा पनि नयाँ एसपी पठाइएको छ। प्रहरी प्रधान कार्यालयले एसपी कृष्ण पंगेनीलाई बारा प्रहरी प्रमुखको रुपमा सरुवा गरेको छ। बाराका प्रहरी प्रमुख एसपी विकास खनालको ५ नम्बर प्रदेशको प्रदेश दंगा नियन्त्रण गण सुनवलमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्