३० महिनामा नि’र्माण सम्पन्न हुनुपर्ने पुल ८ वर्षदेखि अलपत्र !

काभ्रे । काभ्रेको रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिका जोड्ने पुल ८ वर्षदेखि अलपत्र परेको छ । ठेकेदार कम्पनीहरुले ठेक्का लिदै छोड्दै गर्दा २०६८ सालमा निर्माण सुरु गरिएको पुल हालसम्म पनि निर्माण सम्पन्न हुन नसकेको हो ।जापान सरकारको सहयोगमा बन्न लागेको उक्त पुल ३० महिनामा निर्माण सम्पन्न गर्नेगरी कान्छाराम कन्ट्रक्सनले साढे ७ करोडमा सम्झौता गरेको थियो ।

तर, कान्छाराम कन्स्ट्रक्सनले तोकिएको अवधिमा निर्माण सम्पन्न गर्न नसकेपछि जापान सरकारले उक्त कम्पनीलाई ३० लाख रुपैयाँ हर्जना तिरायो। त्यसपछि उक्त पुल निर्माणको जिम्मा नेपाल सरकारललाई सुम्पिदियो । यसैबीच झण्डै चार वर्षसम्म उक्त पुलले कुनै ठेकेदार पाएन । स्थानीयको दबाबपछि २०७५ सालमा बल्ल सरकारी अधिकारीहरुको आँखा उक्त पुलमा प-यो ।

र जाल्पा कन्स्ट्रक्सनलाई पुल निर्माणको जिम्मा दिइयो । २०७५ मंसिरमा भएको सम्झौता अनुसार १ वर्षभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो। तर, अहिले जाल्पा कन्स्ट्रक्सनलाई सरकारले दिएको समयावधि पनि सकिएको छ, भने हालसम्म पुलको अवस्था जस्ताको त्यस्तै छ । स्थानीयले पुलको लागि ताकेता गरेपनि सम्बन्धित निकायले भने खासै चासो नदिएको स्थानीयको आरोप छ ।

रोशी र नमोबुद्धको बीचमा बन्ने उक्त पुलले काठमाडौंलाई पनौती, चौकीडाँडा, दक्षिण महाभारत हुँदै मकवानपुरसँग जोड्छ । यो सडक वीपी राजमार्गको शाखा मार्ग पनि भएकाले अझ बढी महत्वपूर्ण छ । तर, ठेकेदार कम्पनीहरुले जिम्मा लिने तर, काम नगर्ने प्रबृत्तिका कारण २०७१ सालमा निर्माण सम्पन्न हुनुपर्ने सो पुल हालसम्म बनेको छैन ।

प्रतिक्रिया दिनुहोस्