छाउगोठ भत्काउँदा पाप लाग्ने भए, त्यो पाप मै बोकुँला : शृंखला खतिवडा

काठमाडौं। पूर्व मिस नेपाल शृंखला खतिवडा कर्णाली प्रदेश प्रहरीद्वारा आयोजित ‘छाउगोठ अन्त्य कार्यक्रम’ का लागि सुर्खेत पुगेकी थिइन् । तीन दिने भ्रमणमा उनले छाउगोठ मात्र भत्काइनन्, स्थानीयको मनमा रहेको ‘पाप’ को डर पनि आफ्नै पोल्टामा लिइन्। ‘महिलाहरूमा छाउगोठ नबस्दा आइपर्ने देवताको डर मनभित्र गढेर बसेको छ’

सुर्खेतको अनुभव साट्दै शृंखलाले भनिन्, ‘गोठ भत्काउँदा पाप लाग्छ भने त्यो पाप मै बोकुँला नै लाग्छ भनेपछि उहाँहरूले भत्काउन दिनुभयो।’ उनका अनुसार सुर्खेतमा छाउगोठ भत्काउँदा पुरातन सोच बोकेका मान्छेले अप्ठ्यारो मानिरहेका थिए भने नयाँ पुस्ताले राहत। युवाहरू खुसी मात्रै भएनन्, छाउगोठ भत्काउन स्वयम् अघि सरे।

केही समययता सुदुरपश्चिम र कर्णाली प्रदेशका अधिकांश जिल्लामा छाउगोठ भत्काउने अभियान चलिरहेको छ। छाउगोठ र महिनावारी बार्ने चलन हटाउने अभियानमा शृंखला पहिलेदेखि सक्रिय थिइन्। सरकारी अभियान क्रममा अहिलेसम्म आठहजार सात सय छाउ गोठ भत्किसकेका छन्। यसबारे संसदमा पनि बहस जारी छ। यसले समाजमा पुर्खौंदेखि चलिआएको कुचलन ‘समाप्त’ हुने विश्वास गरिएको छ।

तर छाउघर भत्काए पनि महिलाहरूले महिनावारी बार्न नछाडेको र उल्टो खुला आकाशमुनि वा अझै विजोगमा बस्नुपरेका खबर आइरहेका छन्। ‘प्रहरीका डरले केही महिला महिनावारी बेला घरभित्र छिर्न थाले पनि धेरै अझै त्रिपाल ओडेर छाउ प्रथालाई निरन्तरता दिइरहेका छन्,’ शृंखलाले भनिन्, ‘बाहिरी मान्छे आएर दुई-चार गोठ भत्काउँदैमा प्रथा हराउने होइन। हामीले उनीहरूको मनको डर हटाउन जरुरी छ।’ भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्