कार्यदलले ल्याएको ‘एमसीसी प्रतिवेदन’ हुबहु पारित हुँदैन : प्रचण्ड

काठमाडौं, २२ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी अध्ययनका लागि गठन गरिएको कार्यदलले ल्याउने प्रतिवेदन हुबहु पारित नहुने बताएका छन। प्रेस संगठन पोखराले बुधबार गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले कार्यदलले ल्याएको कुरा पार्टीले अध्ययन गर्ने र त्यसपछि मात्रै उचित निर्णयमा पुग्ने जानकारी दिए ।

‘कार्यदलले जे ल्यायो त्यही पारित गर्ने भन्ने होइन्’, अध्यक्ष प्रचण्डले भने, ‘कार्यदलले राम्रोसँग अध्ययन गरेर ल्याएको कुरालाई पार्टीले अध्ययन गर्छ अनि मात्र निर्णय गर्छ ।’ नेकपाले एमसीसीबारे अध्ययन गर्न पार्टीका वरिष्ठ नेता झलनाथ खानलको संयोजकत्वमा स्थायी समिति सदस्य भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रहेको तीन सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ ।

अध्यक्ष प्रचण्डले एमसीसी बारे केन्द्रीय समिति बैठकमा व्यापक छलफल भएको बताउँदै उनले कसैले पनि ठाडै स्वीकार र अस्वीकार भने नगरेको बताएका छन् । ‘एमसीसी बारे केन्द्रीय समितिमा सबै समूहमा व्यापक छलफल भयो’, पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘केन्द्रीय सदस्यहरुले आफूहरुले राम्रोसँग हामीले बुझ्न र जनतालाई पनि बुझाउनु पर्‍यो भनेका कारण सचिवालयले कार्यदल बनाएको हो । कसैबाट पनि ठाडै स्वीकार र अस्वीकार भएको छै न।’

‘सभामुखसँग एमसीसी साट्यो भन्नु गलत’

अध्यक्ष प्रचण्डले आफूले सभामुखसँग एमसीसी सा’टेको भन्ने कुरा विल्कुल गलत भएको बताएका छन् । पहिले विपक्षीमा रहेका प्रचण्ड सभामुख निर्वाचनपछि पक्षमा गएको र सभामुख सँग एमसीसी साटेको भन्ने पत्रकारको प्रश्नको जवाफ दिंदै प्रचण्डले त्यसमा कुनै सत्यता नभएको बताएका हुन् । ‘त्यो गलत कुरा हो, साट्यो भन्ने कुरा बिल्कुल गलत हो’, उनले भने, ‘यसमा सत्यता छैन, भ्रम नपाल्नु होला ।’

केही मान्छेहरुले यो विषयलाई लिएर अनावश्यक प्रचार गर्ने प्रयास गरेको उनको भनाइ थियो । उनले एमसीसीबारे अहिलेसम्म अन्तिम निर्णय नभएको पनि उनले प्रस्ट पारे। उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर एमसीसीबारे निर्णय लिने समेत बताएका छन् । ‘मैले प्रस्तुत गरेको प्रतिबेदनमा पनि यसबारे प्रस्ट पारिएको छ, त्यसकारण यो साटिएको छ भन्ने कुरा सत्य होइन’, उनले भने, ‘हामी राष्ट्रिय हित अनुकुल सत्य तथ्यको गहिरो अध्ययन अनुसन्धान गरेर अगाडि बढ्न चाहन्छौँ ।

प्रतिक्रिया दिनुहोस्