ऋचा शर्मा भन्छिन् : ‘आमाले आमाबिना कसरी बाँच्ने सिकाउनु भएन’

काठमाडौं : नर्भिक अस्पताल नजिकै होटलमा थिइन्, ऋचा शर्मा । मध्यरातको ११ः३५ बजेको थियो, अस्पतालबाट फोन आयो । ऋचाका हात थरथराए, आमालाई भेन्टिलेटरमा राखेको चार दिन भइसकेको थियो। डराई–डराई फोन उठाइन । चिकित्सकले यत्ति भने, ‘अब आउनुपर्‍यो ।’ आत्तिदै अस्पताल पुगिन। चिकित्सकले उनलाई जीन्दगीकै सबैभन्दा कठोर वाक्य सुनाए, ‘सी इज नो मोर।’

दिमाग पूरै हल्लियो, केही सोच्नै सकिनन् । आमाको बेड नजिकै गइन्, नर्सका आँखा रसाएका थिए । आमा निलो–कालो, चिसो र सुन्निएको। वरीवरी तीन दिदीहरु थिए, सब डाँको छोडेर रुन थाले। किन हो, ऋचा रुन सकिनन्। सायद, उनलाई आमाको अन्त्य पत्यार लागिसकेको थिएन। त्यहीबेला अस्पतालको कर्मचारीले भने ‘साढे तीन मिटरको कपडा ल्याउनुस्।’

सेतो र पहेलो कपडा हात परेपछि बल्ल ऋचालाई सत्यको बोध भएछ। बरर आँसु झरे। गत वर्षको दसैंमा ऋचालाई आमाको आर्शिवाद थियो– अर्को वर्ष जोडीलाई नै टिका लगाउन पाउँ । आमाको चाह पूरा हुँदै थियो, मंसिर २१ गते दीपेक्ष विक्रम राणासँग ऋचा को विवाह भयो। तर, महिना दिन नबित्दै कहिल्यै नआउने गरी गइन् आमा। आमा रीनादेवी शर्मा ६५ वर्षकी थिइन्। कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्