जाडोमा कठ्याङ्ग्रिएर पढ्छन् हलिया बालबालिका !

बैतडी । रीया भुल पुसको कड्याङ्ग्रिदो जाडोमा पनि चप्पलमै विद्यालय आउनुहुन्छ । रीयाको जिउमा एक जोर पातलो स्कुल पोशाक मात्र छ । घरमा अभिभावक छैनन् । बुबा मालिकको घरमा हलो जोत्दा जोत्दै बित्नु भयो । आमाले छोडेर गएपछि रीया भुल छिमेकी काकाको घरमा बस्नुहुन्छ । काका कार्कीले ज्याला मजदुरी गरेर कमाएको दिन पेटभरी खान मिल्छ ।

नत्र भोकै बस्नु पर्छ । खाना नपाएको दिन रियाको स्कुल बिदा हुन्छ । रीयाको जस्तै करुणा भुलको पनि घरको अवस्था उस्तै छ। पुसको कठ्याङ्ग्रिदो जाँडोमा विद्यालय जाने ६० जना हलिया बालबालिकाको रीया भुलको जस्तै जिउमा न न्यानो लुगा छ न त खुट्टा मा जुता नै । थर थर काँप्दै हलिया बालबालिका विद्यालय जाने गरेका छन् । घरमा खाना नहुँदा अधिकांश विद्यार्थी विना टिफिन विद्यालय जान्छन् ।

हलिया बालबालिका पढ्ने विद्यालयको दुर्दशा पनि हलिया बस्तीको भन्दा फरक छैन । पानी पर्दा भवन चुहिन्छ । शौचालय जाँदा पानी हुँदैन । विद्यालयमा खाने पानीका धारा नहुँदा तिर्खा लागे बजार दगुर्नु पर्छ । तत्कालीन राणा प्रधानमन्त्री देव शमशेरको पालामा बैतडीको गढीमा वि.सं.१९७६ जेठ २ गते स्थानपना भएको दशरथ भाषा पाठशाला ( हाल १–५) आधारभूत विद्यालयमा अहिले हलिया बालबालिका मात्र अध्ययन गर्छन् ।

यसअघि हुनेखानेहरुले पढ्ने गरेको यो विद्यालय अहिले हलिया, दलित र गरिबका मात्रै बालबालिका अध्ययनरत छन् । यो विद्यालयमा अहिले दशरथ चन्द नगरपालिका–४, बाडीलेकका मुक्त हलियाका बालबालिका मात्र अध्ययन गर्छन। एकसय वर्ष पुरानो ईतिहास बोकेको विद्यालयको भौतिक संरचना पनि यी गरिब बालबालिकाको जस्तै छ । आजको गोरखापत्रमा खबर छ ।

सय वर्ष पुरानो विद्यालय शैक्षिक धरोहर बन्नु पर्नेमा जिर्ण टहरो जस्तै बन्न पुगेको छ । हुरीले विद्यालयको छानो उडाउँदा रेडक्रसले ५० हजार रुपियाँ सहयोग गरेपछि छानो हालिएको छ । विकासे अड्डाको छेउमै रहेको दशरथ चन्द आधारभूत विद्यालयमा नीति निर्मा ताको दृष्टि नपुग्दा भाग्य र विधाताको खेल सम्झेर दलित अभिभाकहरु पनि चुपचाप छन् । बोले पनि कुनै सुनुवाई नहुँने विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजुराम भुलले बताउनुभयो ।

विद्यालयमा गरिब, दलित र मुक्त हलियाका मात्रै बालबालिका अध्ययनरत छन् । अध्ययनरत ६५ विद्यार्थी मध्ये ६२ दलित समुदायका र तीन जना गरिबीको रेखामुनी रहेका घरका छन्। विद्यालयको भौतिक संरचना र युग सुहाउँदो शैक्षिक गुणस्तरका लागि सरकारी स्तरबाट कुनै सहयोग नभएको विद्यालयका शिक्षक दीपक भट्टले बताउनु भयो । भट्टले भन्नुभयो, “ मैले यो विद्यालयमा २४ वर्ष पढाएँ ।

अहिलेसम्म नयाँ भवनको कुनै योजना आएको छैन । यस्तो जाडोमा न्यानो लुगा नहुँदा म आफैले पनि नाजुक अवस्था भएका विद्यार्थीलाई जुत्ता, स्वीटर दिएको छु । विद्यार्थीको जस्तै स्कुलको अवस्था पनि नाजुक भएकाले केही गर्न सकिएको छैन।” सय वर्ष पुरानो विद्यालय पढ्ने गरिब,मजदुर, हलिया र बिपन्न परिवारका बालबालिकाको पढाई स्तर पनि राम्रो छैन । आवासीय सुविधा भए पढाईको गुणस्तर राम्रो हुने अभिभावकले आशा बोकेका छन् ।

प्रतिक्रिया दिनुहोस्