‘काेराेना भाइरस छैन, ढुक्कसँग भ्रमण गर्नुस्’

चितवन : छिमेकी देश चीनमा नोबेल कोरोना भाइरस देखिएपछि पर्यटकीय क्षेत्र सौराहामा पर्यटकको आगमनमा निकै कमी आएको छ। विदेशी पर्यटकमध्ये आधाभन्दा बढी चीनका पर्यटक यहाँ आउने गर्दछन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले सौरहा पूर्णरुपमा सुरक्षित भएको सन्देश स्वदेश र विदेशमा पुर्‍याउन आवश्यक देखिएको बताउनुभएकाे छ ।

नेपाल नै कोरोना भाइरसबाट सुरक्षित भएको भन्दै उहाँले चीनको रोग देखिएका शहरबाट पर्यटक यहाँ नआएकाले यस क्षेत्र पूर्णरूपमा सुरक्षित रहेको जानकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘चीनबाट पर्यटक नआउने र अन्यत्रबाट पनि पर्यटक आएनन् भने यहाँको व्यवसाय धराशायी हुन्छ ।’ चीनको भाइरस देखिएका क्षेत्रबाट पर्यटक नेपाल आएका छैनन् ।

सौराहा क्षेत्रमा पहिले आएका र नेपाल बसोबास गर्दै आएका चिनियाँबाहेकका पर्यटक छैनन् । गएकाे वर्ष याे समयमा दैनिक सात सय हाराहारी चिनियाँ पर्यटक आउने गर्दथे । यति बेला चितवनमा फाट्ट फुट्ट मात्र चिनियाँ पर्यटक रहेका छन् । स्वदेशी, भारतीय र युरोपियन गरी दैनिक दुई सय ५० देखि चार सय पर्यटकले अहिले सौराहा धानेको उहाँको भनाइ छ ।

सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेले समयमै हामी सुरक्षित छौँ भन्ने सन्देश स्वदेश र विदेशमा प्रवाह गर्न सकेमा चिनियाँ पर्यटक कम भए पनि अन्य पर्यटकले धान्न सक्ने बताउनु भयो । सौराहा आउने पर्यटकका लागि यो मौसम नि’कै राम्रो मानिन्छ । वनभित्र बाघ, गैँडाजस्ता जनावरसँगै चराचुरुङ्गी अवलोकनका लागि उपयुक्त समय भएको भन्दै घिमिरेले मौसमका हिसाबले पनि चितवन यतिबेला राम्रो रहेको बताउनुभयो ।

यहाँ गर्मी पनि छैन र जाडो पनि हट्दै गएको छ । चिनियाँ पर्यटकको बुकिङ रद्द भएका छन् । कोरोना भाइरसको त्रा’सले अन्य देशका पर्यटकले पनि यहाँको अवस्थाका बारेमा बुझेर मात्र आउने गरेका छन् । कतिपयले भ्रमण रद्दसमेत गर्ने गरेका छन् । नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न सकेमा विदेशी पर्यटकको भ्रमण तालिका रद्द नहुने र सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

सौराहा आउने विदेशी पर्यटक अन्तर्रा ष्ट्रिय विमानस्थल र भरतपुर विमानस्थलको स्वास्थ्य कक्षमा परीक्षण गरेर मात्र पुग्ने भएकाले सुरक्षित भएकाहरु मात्र पुग्ने गरेका छन। यससँगै सबै होटलमा उच्च सतर्कता अपनाइएको र कुनै कोरोना भाइरसको लक्ष्यण देखापरेमा तत्काल भरतपुर अस्पतालसँग समन्वय गरेर उपचार गर्ने व्यवस्थासमेत गरिएको छ । सौराहा क्षेत्रमा ६ हजार पर्यटक धान्न सक्ने एक सय १५ होटल छन् । रासस

प्रतिक्रिया दिनुहोस्