क्रिकेट रंगशालाः सीएमसीले ५० लाखको मेडिकल भवन बनाइ दिने, १० लाख सहयोग

२४ माघ चितवन : चितवनको रामपुरमा बनिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि चितवन मेडिकल कलेज ५० लाख बराबरको मेडिकल सेन्टर भवन बनाइदिने भएको छ। सीएमसीले नगद १० लाख रुपैयाँ समेत प्रदान गरेको छ । मेडिकल कलेजका प्रमुख सञ्चालक प्रा.डा. हरिशचन्द्र न्यौपानेले रंगशालालाई आर्थिक सहयोग जुटाउन आयोजित धनधान्याचल महोत्सवमा सो सहयोगको घोषणा गरेका हुन् ।

धुर्मस सुन्तली फाउण्डेशनले गरेको डिजाइन अनुसार मेडिकल सेन्टर भवन बनाइदिने डा.न्यौपानेल बताए । क्रिकेट रंग शालामा आउने खेलाडी, आवासीय रुपमा प्रशिक्षण लिने खेलाडी तथा स्थानीय समुदायका बिरामीलाई समेत लक्षित गरी सिएमसी मेडिकल सेन्टर स्थापना गरिने उनले बताए । क्रिकेट रंगशाला निर्माणको काम तिव्र रुपमा भइरहेको छ ।

रंगशालालाई आर्थिक सहयोग जुटाउन माघ १९ गतेबाट चलिरहेको धनधान्याचल महोत्सवमा अहिलेसम्म ८ करोडभन्दा बढी रकम उठेको आयोजक समितिका संयोजक सांसद विजय सुवेदीले जानकारी दिए । माघ २६ गते सम्म चल्ने महायज्ञबाट ५० करोड उठाउने लक्ष्य आयोजकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्