शान्ति मिसन टोली बिदाइ

काठमाडाैं, २५ माघ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संयुक्त राष्ट्रसङ्घको अनुरोधमा सशस्त्र प्रहरी बलकोतर्फबाट शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसन इन साउथ सुडानमा जान लागेका सशस्त्र प्रहरीको बिदाइ गर्नुभएको छ ।

सुडानस्थित ‘फम्र्ड पुलिस युनिट’ (एफपियु)को रुपमा कार्य गर्न त्यसतर्फ खटिई जान लागेको टोलीलाई शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा आयोजित एक समारोहका बीच उहाँले बिदाइ गर्नुभयो। सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यस अवसरमा संयुक्त राष्ट्रसङ्घको अनुरोधमा शान्ति स्थापनार्थ खटिँदा राष्ट्र र सङ्गठनको प्रतिनिधित्व गर्ने हुनाले त्यसठाउँमा उच्च व्यावसायिकता प्रदर्शन गर्दै अनुशासित र इमान्दारिताका साथ उत्कृष्ट कार्य सम्पादनमा क्रियाशील रहन निर्देशन दिनुभयो ।

उहाँले मिसन इलाकामा रहँदा त्यहाँको भाषा, संस्कृति, रहनसहन र परिवेश फरक हुने हुनाले सुरक्षाकर्मी थप सतर्क र चनाखो भई जिम्मेवारी निर्वाहमा क्रियाशील रहनुपर्ने बताउनु भयो। सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कुमार न्यौपानेको कमाण्डमा एफपियुका रुपमा साउथ सुडानको जुबामा खटिई जान लागेको सो टोलीमा २० अधिकृत सहित कूल १८० छन् ।

प्रतिक्रिया दिनुहोस्