३२८ दिन अन्तरिक्षमा बिताएर फर्किएकी कोचको यस्तो छ योजना

एजेन्सी: अन्तरिक्षको जीवन निकै आश्चर्यलाग्दो हुन्छ- अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा सूर्योदय र सूर्यास्त २४ दिनमा झन्डै १६ पटक हुन्छ। उक्त स्टेसन पृथ्वीको परिक्रमा ९० मिनेटमा गर्छ, झन्डै १७ हजार पाँचसय माइल प्रति घण्टाको रफ्तारमा । अमेरिकी अन्तरिक्ष संस्था (नासा)की अन्तरिक्षयात्री ४१ वर्षीया क्रिस्टिना कोचले झण्डै एक वर्ष अन्तरिक्ष केन्द्रमा बिताइन्, हामीले नबुझ्ने किसिमको गुरुत्त्वाकर्षणसँग अनुकूलन गर्दै।

बिहीबार पृथ्वीमा अवतरण गरेसँगै उनी सबैभन्दा बढी समय अन्तरिक्षमा बिताउने पहिलो महिला अन्तरिक्षयात्री भएकी छिन्। अन्तरिक्ष यात्रा र जीवन बारेमा उनका भिडियोहरू नासाको जोनसन अन्तरिक्ष केन्द्रको जनसम्पर्क कार्यालयले राखेको छ।३२८ दिन अन्तरिक्ष यात्रापछि पृथ्वीमा कसरी आफूलाई अनुकूलन गर्ने भन्नेबारे कोचले बताएकी छिन्।

भार र सन्तुलन : एक वर्ष पृथ्वीको चक्कर लगाउँदा उनले कुन चीजको भार कति हुन्छ भन्ने अन्दाज गर्न बिर्सेकी छिन्। अन्तरिक्षमा ठुल्ठूला लेन्ससहितका क्यामरा चलाउँदा उनले त्यसलाई त्यतिकै छाड्थे, किनकि गुरुत्त्वाकर्षण बिना ती तैरि न्थे, बोक्ने कुनै प्रयास नै गर्नुपर्दैन थियो। पृथ्वीमा सामान उचाल्न उनलाई त्यसको भार कत्ति छ भन्ने अनुमान लगाउन केही समय लाग्नेछ।

यससँगै अर्को चुनौती हुनेछ, सन्तुलनको। पृथ्वीमा आँखा र भित्री कानले उभिन वा सन्तुलित हुन मद्दत गर्छ। तर, अन्तरिक्षमा भित्री कानले सन्तुलन गर्न छोड्छ, आँखाले देखेकै भरमा सन्तुलन गर्नुपर्ने हुन्थ्यो। जेभए पनि मानिसको शरीर नयाँ वातावरणमा अनुकूलन का लागि प्रभावकारी छ। त्यसैले उनको उपाय छ- एल प्लस २, अर्थात् आफ्नै खुट्टामा उभिने दुई दिनसम्म।

सुताइ : प्रायःलाई सुत्दा आसन नमिलेर निद्रा बिग्रन्छ, तर उनी स्लिपिङ ब्यागमा तैरिएर सुत्थिन्। अन्तरिक्षमा सुत्दा न उनी चल्थिन्, न चिसो-तातो हुन्थ्यो, उनी शरीरको प्राकृतिक अवस्थामा तैरिन्थिन् त्यो पनि ३२७ रातसम्म । ‘अब पृथ्वीमा कसरी सुत्ने?,’ उनको चिन्ता छ, ‘पेट थिचेर सुत्ने कि, माथि हेरेर कि वा दाया-बायाँ फर्केर।’ अझ ओछ्यानमा आफ्नो श्रीमान्सँग सुत्न पनि केही दिन उनलाई समस्या नै होला।

वातावरण : ‘मेरो मुखमा हावाले हानेको, पानी परेको, खुट्टामा बालुवा र समुद्रको छालको आवाज, यी सबै म फेरि अनुभव गर्न चाहन्छु’ उनी भन्छिन्। हामीले यी सबै कुरालाई कत्ति सजिलै लिन्थ्यौँ, तर तिनको महत्त्व र अनुभव ती चीज नहुँदा बढी लाग्दो रहेछ। अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रको वातावरण भनेको प्रायः भेन्टिलेसनको आवाज थियो। यसले हावालाई चलाउँथ्यो र त्यसलाई सफा गरी पुनः सास फेर्नयोग्य बनाउँथ्यो। त्यहाँ कुनै क्षेत्रमा ठूलो आवाज हुन्छ भने कतै पूर्णतः सुनसान हुन्थ्यो।

सुवासना : मीठो बासना, अन्तरिक्षमा यो कहिल्यै पाइँदैन। त्यहाँ बासनायुक्त साबुन वा लोसन निषेधित थियो, किनकि यसका रसायनले हावा सफा गर्ने प्रणालीमा असर गर्छ। अन्तरिक्षको एउटा बेग्लै गन्ध छ। बाहिर पुगेका कुनै पनि वस्तुको गन्ध खिइएको धातुको जस्तै हुन्थ्यो। आगामी वर्षहरूमा यस्तो गन्धले कोच र उनका साथीहरूलाई सताइरहनेछ। उनी भन्छिन्, ‘पृथ्वीमा घाँस, हावा, नरिवल, बलेको मैनबत्ती आदि जस्तो सुवासनासँग अनुकूलन मेरो लागि सहज हुनेछ।’

स्नान : अन्तरिक्षमा स्नान पृथ्वीको जस्तो हुँदैन। त्यहाँ साबुनयुक्त एउटा रुमाललाई भिजाइन्छ, अनि त्यो रुमाल दुई दिनसम्म दुईपटकका लागि प्रयोग गरिन्छ। हामीले पुछ्ने रुमाल एक सातासम्म प्रयोग गरिन्छ। टाउकोमा शैम्पु प्रयोग गरिन्छ, तर यहाँको जस्तो फिजयुक्त होइन। अन्तरिक्षमा पानी तपाईँको शरीरमा टाँसिन्छ, बहेर जाँदैन। उनी ११ महिना भन्दा बढी समयपछि पृथ्वीमा पहिलो शावर स्नानको अनुभव लिएकी छिन् । अन्तरिक्षबाट हेर्दा पृथ्वीमा कुनै सिमाना छैन– हामी सबै एउटा ठूलो जीवको भाग हौँ। म एक वर्षदेखि यस्तो दृष्टिकोणको भुक्तभोगी छु।

पहिरन : पृथ्वीमा उनले लुगा धुनुपर्नेछ। अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा लुगा नफालुञ्जले लगाइन्थ्यो। भित्री लुगा– दुई दिनका लागि, मोजा– एक हप्ता, टिसर्ट– दुई हप्ता, पेन्ट– एक महिना। त्यसपछि ती लुगालाई फाल्नेमा राखिन्थ्यो, सामानको गाडीमा राखिन्थ्यो र जला’इन्थ्यो। अनि त्यहाँ लुगाको धेरै विकल्प हुँदैनथ्यो। अब पृथ्वीमा उनले मौसम अनुसार पहिरन लगाउन, लुगा धुन, त्यसलाई पत्याउन मिहिनेत गर्नुपर्नेछ। ‘यो अनुकूलन निकै गाह्रो हुनेछ,’ उनी भन्छिन्।

खाना : अन्तरिक्षमा ३२८ दिनसम्म एउटै चम्चाले खाइन्छ, त्यो शायद उनको सबैभन्दा ठूलो सम्पत्ति थियो। सबै खानेकुरा प्याकेटमा हुन्थ्यो, कि त त्यसलाई स्ट्रले पिइन्थ्यो कि काटेर चम्चाले खाइन्थ्यो। झन्डै २०० वटा पिउने कुरा हुन्थ्यो। ‘यो हेर्दा धेरै लाग्न सक्छ,’ कोच भन्छिन्, ‘तर प्रत्येक साता त्यही चीज हुन्थ्यो, म ४७ हप्ता त्यहाँ थिएँ।’ कहिलेकाहीँ उनीहरू केही नयाँ-नयाँ प्रयोग गर्थे, जस्तै- कफीमा नरिवलको तेल इन्जेक्ट गरेर पिउने वा फरक-फरक किसिमका खानाहरू मिसाएर खाने। अब कोचको लागि पृथ्वीमा समय लाग्नेछ, छुरा र काँटा प्रयोग गरेर खान।

विकल्प: पृथ्वीमा कति धेरै विकल्पहरू छन्। उनको अन्तरिक्ष यात्रा र त्यसअघिको प्रशिक्षणको केही वर्षको अवधिमा उनको दैनिकी प्रत्येक मिनेट निश्चित थियो, सीमित खाना र पहिरन। अब उनका लागि डिपार्टमेन्ट स्टोर वा किराना पसलमा जानु चुनौतीपूर्ण हुनेछ।

समय : ‘पृथ्वीको समय मबिना नै अघि बढ्यो,’ उनी भन्छिन्, ‘मैले वार्षिकोत्सव, जन्मदिन बिदा, दीक्षान्त सबै छुटाएँ।’ हुन त उनी सक्दो आफ्ना परिवार र साथीभाइसँग जोडिन्थे, तर अन्तरिक्ष केन्द्र भौतिक रूपले मात्र अलग छैन। उनी जीवनभर त्यहाँको ल्याबको अनुभव सुनाउन सक्छिन्। यत्रो समय के-के परिवर्तन भयो? अन्तरिक्षबाट आउने आवाज मात्र नभई आफ्नो परिवार र साथीभाइसँग साँच्चिकै सँगै हुनुलाई सामान्य बनाउन समय लाग्नेछ।

दृष्टिकोण : ‘पृथ्वी जीवन्त छ र मैले यसको सुन्दरता यसभन्दा २५० माइल माथिबाट देखेको छु,’ उनी भन्छिन्, ‘त्यहाँ बाट पृथ्वीमा कुनै सिमाना छैन– हामी सबै एउटा ठूलो जीवको भाग हौँ । म एक वर्षदेखि यस्तो दृष्टिकोणको भुक्तभोगी छु।’ अनि उनी पृथ्वीमा बसेर आकाशमा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र हेर्नेछिन्, उनीबिना त्यहाँ अरू साथीहरू के गर्दै होलान् भनी सोच्दै।

चन्द्रमा अन्तरिक्षबाट त्यस्तै देखिन्छ, जस्तो पृथ्वीबाट देखिन्छ। ‘उल्लेख गर्नैपर्ने कुरा, हामी चन्द्रमामा पुनः जान खोज्दा यो हाम्रोसाझा सन्दर्भ विन्दु हो र सबैलाई उत्तिकै आकर्षण गर्छ।’ नासाको आधिकारिक वेभसाइटमा प्रकाशित फिचर लेखको अनुवाद

प्रतिक्रिया दिनुहोस्