गौतमबुद्ध अन्तरराष्टिय क्रिकेट रङ्गशालाको आम्दानीले खेलाडी उत्पादन गर्ने

चितवन । जनस्तरबाट निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तरराष्टिय क्रिकेट रङ्गशालाको आम्दानी नेपाली खेलाडी उत्पादन र सामाजिक सेवामा खर्च गरिने भएको छ । प्रदेश नं २ का विभिन्न जिल्लाबाट बन्दै गरेको रङ्गशाला भ्रमणमा आएका पत्रकार र यहाँका पत्रकारसँग आज आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै धुर्मुश सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले रङ्गशाला शिक्षालय पनि भएकाले खेलाडी उत्पादनमा बचेको रकम खर्च गरिने बताए ।

रङ्गशाला सम्पन्न भएपछि कसले सञ्चालन गर्दछ भन्ने पत्रकारको प्रश्नमा उनले भरतपुर महानगर पालिका, धुर्मुश सुन्तली फाउण्डेशन र सामाजिक अभियान्ता रहेको व्यवस्थापन समितिले रङ्गशाला सञ्चालन गर्ने प्रष्ट पारे । त्यसको आम्दानीले नेपालमा खेलाडी उत्पादन गरेर अन्तरराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने भन्दै उनले केही हिस्सा सामाजिक कोषमा राखेर विपतमा परेकालाई सहयोग गरिने बताए। फाउण्डेशनका उपाध्यक्ष कुञ्जना घिमिरेले आफूहरु सरकारको विरोधी नभएर सघाउन छिरेको अभियान्ता भएकाले सबैको साथ र सहयोगको अपेक्षा गरिन् ।

कार्यक्रममा प्रदेश नं २ बाट आएका रौतहटका अन्नपूर्ण कर्मी फणी महत, अन्नपूर्णकै जनकपुरका राजकरण महत्तो र कान्तिपुरका प्रदेश नं २ का ब्यूरो प्रमुख अजित तिवारीले फाउण्डेशनले प्रदेश नं २मा बनाएका बस्ती उदाहरणीय भएको भन्दै रङ्गशाला निर्माणमा साथ र सहयोगका लागि पत्रकारको टोली आएको बताए । कार्यक्रममा पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले रङ्ग शाला निर्माणका लागि चितवनका जनतासँगै पत्रकार लागि परेको जानकारी दिए । रङ्गशाला हेर्न प्रदेश नं २ का छ जिल्लाबाट १४ पत्रकार आएका थिए ।

प्रतिक्रिया दिनुहोस्