२५ लाखभन्दा कम मूल्यमा किन्न पाईन्छ मारुती सुजुकीका ४ कार

काठमाडौं । मारुती सुजुकीको उत्पादनहरु नेपालमा २५ लाखभन्दा कम मूल्यमा किन्न पाईन्छ । मारुती सुजुकीले बिक्री गर्दै आएको अल्टो ८००, एस प्रेसो, वागेनआर र सेलेरियो कार अहिले पनि २५ लाखभन्दा कम मूल्यमा किन्न सकिन्छ ।मारुती सुजुकी कम मूल्यको कारको कारण भारतमा पनि सर्वाधिक सफल ब्राण्ड हो ।

यस्तोमा नेपालको लागि आधिकारीक वितरक सिजी मोटो कर्पले विभिन्न ४ मोडलका कारहरु २५ लाखभन्दा कम मूल्यमा बिक्री गर्दै आएको छ। मारुती सुजुकी अल्टो नेपालमा धेरै बिक्री भएको इन्ट्री लेवल कार हो। ८०० सीसी क्षमताको अल्टोलाई कम्पनीले विभिन्न २ भेरियन्टमा बिक्री गर्दै आएको छ । कम्पनीले अल्टोको इन्ट्री लेवल भेरियन्टको मूल्य १८ लाख ९९ हजारबाट सुरु हुन्छ ।

कम्पनीले अहिले दशैं तिहार योजनामा नगद छुट दिएर यसको बिक्री गर्दै आएको छ । मारुती सुजुकीले बिक्री गर्दै आएको अर्को कम मूल्यको कार हो एस प्रेसो । एस प्रेसोलाई कम्पनीले माइक्रो एसयूभीको नामबाट ब्राण्डिङ गरेर बिक्री गर्दै आएको छ । विभिन्न ४ भेरियन्टमा उपलब्ध एस प्रेसोको सुरुवाती मोडलको मूल्य २३ लाख ४९ हजार रुपैयाँ रहेको छ । एस प्रेसोमा ९९९ सीसी क्षमताको इन्जिन दिइएको छ ।

वागेनआर नेपालमा चिनाइ रहनु नपर्ने नाम हो । टलह्याच डिजाइनमा तयार भएको वागेन आरको नयाँ जेनेरेशन मोडल कम्पनीले एक वर्षअघि देखि नेपालमा बिक्री गर्दै आएको छ । यसको सुरुवाती मूल्य २४ लाख ९९ हजार रुपैयाँ रहेको छ । कम्पनीले यसलाई दुई इन्जिन अप्सनको साथ नेपाली बजारमा बिक्री गर्दै आएको छ ।

कम्पनीले २५ लाख रुपैयाँमा बिक्री गर्दै आएको अर्को मोडल सेलेरियो नेपाली बजारमा सर्वाधिक सफल मोडल हो। ९९९ सीसी क्षमताको इन्जिन दिइएको सेलेरियो पारिवारीक कारको रुपमा चिनिन्छ । कम्पनीले यसको सुरुवाती भेरियन्टको मूल्य २५ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्