कालापानीमा नेपाल टेलिकमको टावर

दार्चुला। कालापानी क्षेत्रमा सेवा विस्तार गर्ने उद्धेश्यले नेपाल टेलिकमले जिएसएम (नमस्ते) को टावर निर्माण शुरु गरेको छ। सिडिएमए (स्काइ) टावर मात्रै सञ्चालनमा रहेको ब्यास गाउँपालिका–१ छाङ्गरु स्वास्थ्यचौकी भवन नजिकै टेलिकम ले नमस्तेको टावर निर्माणका लागि जग खन्ने काम शुरु गरेको हो । टावर निर्माणका लागि १८० क्विन्टल बढी टेलिकमका टावरका सामाग्री तथा समान ढुवानी भइरहेको छ ।

गत आर्थिक वर्ष २०७६–०७७ मा सुदूर पश्चिम प्रदेश सरकारको सहयोगमा टेलि कमको लागि दुई वटा भवन निर्माण गरिएको छ । हेलिकोप्टर मार्फत टावरको समान ढुवानी शुरु भए पछि टावरका लागि चाहिने जग खन्ने काम शुरु भएको ब्यास गाउँपालिका–१ का वडाअध्यक्ष अशोकसिह बोहराले जानकारी दिए ।

ब्यासमा बाह्रैमास बस्ने गरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म स्थापना भएपछि सञ्चारको आवश्यकता झनै बढेको छ । गृह मन्त्रालयले ब्यासको विकासका लागि विशेष प्याकेज बनाएर काम थालेसँगै टेलिकमको टावर पनि निर्माण शुरु गरिएको बताइएको छ । नमस्तेको टावर जडान भएपछि भारतले अतिक्रमण गरेका तीन गाउँ, नावी, गुञ्जी र कुटीसम्म यसको पहुँच पुग्नेछ ।

कालापानी देखिने डाँडामै नमस्ते फोनको रिपिटर टावर राखिन लागेको टेलिकमले जनाएको छ । यसअघि पनि ब्यासको छाङ्गरुमा रहेको सिडिएमए टावरले छियालेक, बुदी, गव्र्याङ्गका नागरिकलाई सहज रूपमा नेपाली फोनको सुविधा पुगेको थियो । हिमपात हुनु अघि नै टावर निर्माण गरेर सञ्चालन गर्ने तयारी रहेको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताए ।

एसएम बिटिएससँगै सशस्त्र प्रहरीको भिएचएफ सञ्चार सेट पनि जडान गर्ने तयारी भएको छ । सशस्त्र प्रहरीलाई खबर आदानप्रदान तथा सञ्चार गर्न समस्या भएपछि छुट्टै प्रविधिमार्फत सञ्चार जोडिन लागेको हो । सरकारले परनिर्भरता हटाउन दार्चुलाको ब्यास गाउँ पालिकामा विशेष एकीकृत कार्ययोजना तयार पारेर विकास निर्माण थालेको छ ।

प्रतिक्रिया दिनुहोस्