देश र जनतालाई धोका हुने कुकर्ममा कोही नलागौं: भीम रावल

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही पनि लाग्न नहुने बताएका छन्। नेकपाभित्र देखिएको संकटबारे लक्षित गर्दै बुधबार बिहान रावलले ट्वीट गरेका छन्- फुट र विभाजनजस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलागौं।

नेकपामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो समय सम्बन्ध चिसिएको छ। गत शुक्रबार सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको आलोचनामा कार्यकारी अध्यक्ष प्रचण्डले १९ पेजको प्रस्ताव पेश गरेका थिए। उक्त प्रस्तावबारे आज दिउँसो १ बजे सचिवालय बैठकमा छलफल हुने भनिए पनि बैठक बस्ने भनिएकै समयमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक राखेका छन्।

रावललले नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारीत स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालना नै समस्याको समाधान भएको पनि बताएका छन् । उनले बैठकबाट समस्याको समाधान खोज्नुपर्ने बताएका छन्। प्रधानमन्त्री ओली आज सचिवालय बैठक सार्ने पक्षमा छन्। तर प्रचण्डसहित पाँच जना सचिवालय सदस्य आज सचिवालय बैठक गर्ने तयारी गर्दैछन्।

प्रतिक्रिया दिनुहोस्