बुवा बि’तेर जानुभयो, उहाँले रोपेका सुन्तलाले अहिले पनि घरखर्च चलिरहेको छ

काठमाडौं : उत्तम रानामगर ५६ वर्षका भए। उनी १० वर्षको हुँदा बुवा नरबहादुरले बारीमा सुन्तला सारेको सम्झिन्छन्। सुन्तला पनि उनीसँगै हुर्किए। उत्तमका बुवा बितेको पनि १७ वर्ष भयो। बुवा बितेर गए पनि बुवाले छोडेर गएका बारीमा सुन्तला वर्षेनी फल्छन्। यिनै सुन्तलाले उत्तमको जिन्दगी टरिरहेको छ।

उनी १० वर्षका हुँदा लगाएका सुन्तलाले उत्पादन दिन थालेकै ४० वर्ष भइसक्यो। चितवनको इच्छाकामना गाउँपालिका-२ तल्लो काउलेका उत्तमले बावुले सुरू गरेको सुन्तला उत्पादनलाई थप व्यवसायिक बनाए । ‘बुवा बित्नुअघि ५० वटा बोट थिए अहिले ३०० बोट पुगेको छ,’ उनले भने, ‘बुवाले सुरूआत गरेको खेतीमा अहिले मेरा छोराछोरीले पनि साथ दिइरहेका छन्।’

२०६० साल अघि उत्पादन दिन थालेका बोटहरूलाई उत्तम पुराना बोट भन्छन् । ती पुराना बोटहरू मध्ये पनि आधाजसोले उत्पादन दिन थालेको करिब ४० वर्ष भयो । ‘अहिले पनि एउटै बोटमा तीन क्विन्टलसम्म सुन्तला फल्छ, केही वर्षअघिसम्म त ५ क्विन्टल नै फल्थे,’ उनले भने। बावुले लगाएका बोटमा फलेका सुन्तला बेचेरै उत्तमले छोराछोरीलाई सहरमा पढ्न पठाए, घरव्यवहार अझै चलाइरहेकै छन्।

‘अहिले त छोराछोरीले पनि सघाउन थालेका छन्।’ बारी गोड्नेदेखि बिक्रीका लागि बजार पुर्‍याउनेसम्मका काममा छोराछोरीले सहयोग गर्ने गरेको उत्तम बताउँछन् । पुराना बोटमा उत्पादन घट्न थालेपछि उनले नयाँ बिरूवाहरू थप्न थालेका छन्। उनले सुन्तलाको बीचमा किबी र बारीको छेउमा अलैंची खेती पनि सुरू गरेका छन्।

‘सुन्तलालाई थप व्यवसायिक बनाउँदै किबी, अलैंची र बेमौसमी तरकारीको खेती विस्तार गरेको छु’, उनले भने, ‘वर्षमा ४/५ लाख आम्दानी हुने गरेको छ।’ इच्छा कमना-३ स्थित ढापका ७० वर्षीय बमबहादुर गुरूङको बारीमा ५० वर्ष पुराना बोटले पनि उत्पा दन दिइरहेका छन्। उनको परिवारले सुन्तला बेचेरै वार्षिक २० लाख रुपैयाँसम्म कमाइ गर्ने गरेको छ। विस्तृतमा सेतोपाटिमा राजेश घिमिरेले लेख्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्