आइसियु र भेन्टिलेटर चलाउन पहल

भजनी, ६ मंसिर । को’रोना सङ्क्रमणको दर बढ्दै जाँदा आइसियु र भेन्टिलेटरको अभाव हुँदै आएको छ । सुदूर पश्चिम प्रदेश र सङ्घीय सरकारले कैलालीको टीकापुर अस्पताललाई भेन्टिलेटर उपलब्ध गराए पनि जनशक्ति उपलब्ध गराउन नसक्दा अस्पताल आफैँले आइसियु र भेन्टिलेटर सञ्चालनका लागि पहल शुरु गरेको छ ।

चालू आर्थिक वर्षमा सङ्घीय सरकारले टीकापुर अस्पताललाई चारवटा भेन्टिलेटर खरिदका लागि रकम पठायो भने सुदूरपश्चिम प्रदेश सरकारले दुईवटा भेन्टिलेटर खरिद गरेर पठाएको छ । एकवटा भेन्टिलेटर यूएनडिपीले अस्पताललाई सहयोग गरेको अस्पतालमा उप करण भएर पनि जनशक्ति नहुँदा आएका उपकरणलाई प्रयोगमा ल्याउन नसकिएको अस्पतालका अध्यक्ष दीपक रावलले बताउनुभएको छ ।

“अहिले टीकापुर अस्पतालसँग सात वटा भेन्टिलेटर छन् तर, आइसियुका लागि एकजना दक्ष जनशक्तिसमेत अस्पतालसँग छैन ।” अध्यक्ष रावलले भन्नुभयो, “अहिले बिरामीको आइसियु र भेन्टिलेटर नपाउँदा ज्यान जाने गरेको छ । हामीले त्यसैलाई मध्य नजर गर्दै अबको दुई महिनाभित्र आइसियु र भेन्टिलेटर सञ्चालन गर्ने गरी स्थानीय तहसँग समन्वय शुरु गरेका छौँ ।”

अध्यक्ष रावलले टीकापुर नरगपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका, भजनी नगरपालिका र महुन्याल गाउँपालिकासँग छलफल भएको बताउनु भएको छ । उहाँले दश बेडको आइसियु र सात बेडको भेन्टिलेटर सञ्चालनका लागि पूर्वाधार अस्पतालसँग भए पनि आवश्यक पर्ने जनशक्तिका लागि भने आर्थिक अभाव भएका कारण स्थानीय तहसँग छलफल गरिएको बताउनुभयो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रेमकुमार राईले आइसियु तथा भेन्टि लेटर सञ्चालनका लागि एकजना एनेस्थेसियालोजिष्ट सहित ३२ जना थप कर्मचारी व्यवस्थापन गर्नु पर्ने भन्दै त्यसका लागि करिब रु दुई करोड ३७ लाख ५५ हजार ८०० अनुमानित खर्च हुने बताउनुभयो । राईले उपकरणमात्र भएर सेवा सञ्चालन गर्न नसकिने भन्दै जनशक्तिका लागि आर्थिक पाटोसक्षम भए आइसियु सञ्चालन गर्न कुनै समस्या नरहेको बताउनुभएको छ ।

उहाँले आइसियु सञ्चालन हुँदा टीकापुरका लागि मात्र नभई आसपासका क्षेत्रलाई समेत महत्वपूर्ण टेवा पुग्ने बताउनु भयो । अस्पताल विकास समितिको समन्वयमा भएको सर्वदलीय छलफलमा अस्पतालमा आइसियु तथा भेन्टिलेटर सञ्चालनका लागि स्थानीय तह सका रात्मक देखिएका छन् । भजनी नगरपालिकाकी उपप्रमुख छायाँ देवकोटाले को’रोना भाइरसको सङ्क्रमण बढ्दै जाँदा बिरामीले अस्पतालमा बेड पाउने अवस्था नरहेको बताउँदै यो समयमा आइसियु स्थापना प्रस्ताव महत्वपूर्ण रहेको बताउनुभएको छ ।

त्यस्तै, जोशीपुर गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरीले गाउँपालिकामा चालू आवमा सबैभन्दा कम बजेट आएको बताउँदै आइसियु सञ्चालनका लागि सक्दो सहयोग गर्ने बताउनुभयो। टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्रबहादुर रावलले आइसियु सञ्चालनका लागि टीकापुर नगरपालिकाले अग्रपङ्क्तिमा रहेर सहयोग गर्ने बताउँदै एउटै स्थानीय तहले मात्र चाहेर आइसियु सञ्चालन गर्न सम्भव नरहेको बताउनुभयो ।

छलफलमा सुदूरपश्चिम प्रदेश सभा सदस्य एवं प्रमुख प्रतिपक्षी दलका नेता रणबहादुर रावलले सरकारलेनै स्वास्थ्य शिक्षालाई प्राथमिकता दिएको अवस्थामा सबै स्थानीय तह मिलेर सङ्घ र प्रदेशलाई दबाब दिनै भएपनि आइसियु सञ्चालन सुझाव दिनुभएको छ । सुदूर पश्चिम प्रदेशको मातहतमा रहेको टीकापुर अस्पतालमा आवश्यक भौतिक पूर्वाधार भएर पनि जनशक्तिको अभावमा बिरामीलाई नेपालगञ्ज, धनगढी रेफर गर्नुपर्ने बाध्यता रहँदै आएको छ । कैलालीको आधाभन्दा बढी स्थानीय तह र बर्दियाको आधाभन्दा बढी स्थानीय तहका नागरिक उपचारका लागि टीकापुर अस्पतालमा आउने गर्दछन् । (रासस)

प्रतिक्रिया दिनुहोस्