पानीको मूल फुटेपछि सुकेको दहमा कमल फूल्न थाल्यो

बर्दिबास : महोत्तरीको बर्दिबास नगरपालिका-४ पञ्चधुरा माइस्थान मन्दिर परिसरमा पानीको मुल फुटेको छ । एक दशक अघि मन्दिरमा रहेको दह सुकेको थियो । अहिले अच्चम लाग्दो तरिकाले मन्दिरबाटै पाँच महिनादेखि भलभल्ती निर्मल पानीको मुल बग्न थालेको पञ्चधुरा माई मन्दिर संरक्षण समितिका अध्यक्ष अकलबहादुर तामाङ्गले बताए ।

‘मन्दिर परिषरमा पाँच स्थानमा पानीको मुल फुटेको छ, ‘उनले भने, ‘एक ठाउँमा त पञ्चधुरा माईको एेतिहासिक मन्दिरबाटै पानी बगिरहेको छ।’ मन्दिर नजिकै रहेको दहमा पानी जम्मा भएपछि हराएको कमलको फूल फुल्न थालेको छ । मन्दिरबाटै पानी बग्न थालेपछि हेर्नेको घुइँचो लाग्ने गरेको छ । पर्यटक मन्दिरमा आउन थालेका छन्। वनभोज खानेहरु पनि आउन थालेका छन्।

‘बिहान कमलको फूल फुल्ने गरेको छ । मूल र फूल हेर्ने आन्तरिक पर्यटक बढ्दैछन्,’ संरक्षण समितिका अध्यक्ष तामाङ्गले भने । चुरे क्षेत्रमा पञ्चधुरा माइस्थान पर्दछ । बढ्दै गरेको चुरे विनासले भूमिगत पानीको मूल हराएको चुरे विज्ञ डा. बिजय सिंहले बताए। पछिल्लो समय चुरे संरक्षणमा सबैको चासो बढ्दा चुरेमा सुकेका मूलमा पानी देखिएको उनले बताए ।

पञ्चधुरा माई मन्दिर मधेसको प्रसिद्ध देवी शक्तिपीठमा पर्दछ। पूर्व—पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास चोकबाट २ किलो मिटर पश्चिम उत्तरस्थित वनक्षेत्र छिचोलेर प्राचीन यो देवी शक्तिपीठ परिसरमा पुग्न सकिन्छ । पानीको मुल फेरि फर्किएपछि माईस्थान को जनजीवन नै फेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्