पहिलो पटक मोटरसाईकल पुग्दा भव्य स्वागत

कालिकोट : जिल्लाको नरहरिनाथ गाउँपालिकामा पहिलो पटक मोटर साईकल पुगेको छ। विकासमा पछि परेको नरहरीनाथ गाँउपालिकामा स्थानीय तह निर्वाचन भएको करिव ३३ महिनापछि मोटर साइकल पुगेको हो। गाउँ पालिकाले निमार्ण गरिएको लालिघाट, सुनथराली हुँदै गाँउपालिका केन्द्र कुमाल गाँउसम्मको ग्रामिण सडक खोलिएपछि गाँउपालिकामा मोटरसाईकल गएको हो।

गाँउपालिकाले दुई वर्ष लगाएर ७ करोडको लगानीमा लालिघाट देखि कुमाल गाउँसम्मको १८ किलोमिटर सडकको ट्रयाक खोलेको छ। गाँउमा पहिलो पटक मोटरसाईक देख्दा निकै उत्साहित भएको नरहरीनाथ गाँउपालिका वडा नं. २ निवासी काली बहादुर बिष्टले बताए। उनले भने, ‘मलाई धेरै खुसी लागेको छ, ढिलै भए पनि गाउँमा मोटरसाईकल देख्न पाइयो। गाँउमा गाडी आउने भएपछि हामीले जुनी बदलेको जस्तो लागेको छ।’

लालिघाटदेखि गाउँपालिका केन्द्र कुमाल गाँउमा पहिलो पटक २ वटा मोटरसाईकल पुग्दा स्थानियले अभिनन्दन गरेर भव्य स्वागत गरे। नरहरीनाथ गाँउपालिका वडा नं. २ का खम्म दर्जीले आफ्नो गाँउको छेउबाट गाडी गुड्ने भएपछि खुसी भएको बताए । गाँउमा पहिलो पटक मोटरसाईकल लिएर जाने स्थानीय युवा भीम शाही र सुमन विष्टलाई स्थानीयले अभिनन्दन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्