पेन्सन बुझनका लागि झुलाघाट नाका ५ दिन खोलिने

बैतडी, ७ मंसिर। भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका ५ दिनका लागि खोलिने भएको छ। मंसिर ८ गते सोमबारदेखि मंसिर १२ गते शुक्रबारसम्म नाका खुला हुने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । भारतीय पेन्सनधारी नेपाली नागरिकलाई पेन्सन बुझ्नका लागि सजिलो होस भनेर ५ दिनका लागि नाका खोल्ने तयारी भएको उनले बताए ।

नेपाल सरकारको निर्णय, जिल्ला प्रशासन कार्यालय बैतडी र डिएम कार्यालय पिथौरागढको समन्वयमा नाका खोल्ने तयारी भएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले जानकारी दिए । पेन्सनधारी नागरिकहरुले कोरोनाका कारण सीमा नाका बन्द भएपछि गएको चैतदेखि पेन्सन बुझ्न पाएका छैनन् ।

पेन्सनधारी नागरिकको समस्यालाई मध्यनजर गरेर नाका खोलिन लागेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नाका खुलेको समयमा पेन्सनधारी नागरिकका साथै अत्यावश्यक र आकस्मिक काम परेकाहरुले समेत आवतजावत गर्न पाउने सहायक प्रमुख जिल्ला अधिकारी नेगीले जानकारी दिए । यो खबर आजको राधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्