विराटनगर विमानस्थल विस्तारको बाटो खुल्दै

विराटनगर, मङ्सिर ७ गते । विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गर्ने प्रक्रियामा एउटा प्रगति थपिएको छ। विमानस्थल विस्तारका लागि आवश्यक जग्गा अधिग्रहण गर्न नेपाल सरकारले स्वीकृति दिएपछि अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बन्नेमा विराटनगरवासीमा आशाको सञ्चार भएको छ ।

गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले विराटनगर विमानस्थल विस्तारका लागि १२६.४६ बिघा जमिन अधिग्रहण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । विराटनगर विमानस्थलको हाल कायम रहेको एक हजार पाँच सय मिटरको धावन मार्ग तीन हजार मिटरमा विस्तार गर्ने योजना छ ।

त्यसका लागि विस्तृत परियोजना प्रतिवेदन तयार हुने क्रममा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण विराटनगरका प्रमुख उत्सव खरेलले जानकारी दिनुभयो । मन्त्रि परिषद्ले स्वीकृति दिएको १२६.४६ बिघा जमिन अधिग्रहण गर्दा दुई हजार पाँच सय मिटरको मात्र धावन मार्ग बन्नसक्ने बताइएको छ । यस चरणमा केशलिया नदी पूर्वतर्फको जमिन मात्र अधिग्रहण हुनेछ ।

तीन हजार मिटरको धावन मार्ग बनाउन जग्गा अपुग भएको खण्डमा परियोजना संशोधनमार्फत थप जमिन अधिग्रहणको प्रक्रिया अघि बढाउन सकिने बताइएको छ । प्राधिकरणका विराटनगर कार्यालयका प्रमुख खरेलले अहिले सबै विवरण आइनसकेको बताउनुभयो । प्रमुख खरेलले भन्नुभयो, “भर्खर मन्त्रिपरिषद्बाट जग्गा अधिग्रहणको स्वीकृति भएको छ ।

अब मङ्सिर अन्तिमसम्ममा हामीलाई सबै विवरण प्राप्त हुन्छ होला। त्यसपछि सरोकारवालासँग छलफल गरेर जग्गा प्राप्तिका लागि सूचना प्रकाशित गर्नेछौँ ।” जग्गाको नापजाँच गरेर पुस मसान्तभित्रै सूचना प्रकाशन गर्नेगरी काम अघि बढाउने उहाँले जानकारी दिनु भयो ।अहिले अधिग्रहणका लागि स्वीकृत भएको जग्गा पूर्व–पश्चिम र उत्तर–दक्षिण दुवैतर्फ विस्तार गर्नका लागि भएको प्रमुख खरेलले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार उत्तर–दक्षिण चौडाइ धावन मार्गको मध्यबिन्दुबाट दुवैतर्फ न्यूनतम १५० मिटर हुनेछ । अहिले उत्तर–दक्षिण चौडाइ ९० मिटरदेखि १५० मिटरसम्म छ । टर्मिनल भवन रहने स्थानमा भने उत्तरतर्फ केही बढी जमिन अधिग्रहण गर्ने योजना रहेको प्रमुख खरेलले जानकारी दिनुभयो । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्