बंगलादेशभन्दा पहिले चीनबाट मल नेपाल आइपुग्ने

काठमाडौं । बंगलादेशबाट सापटीमा ल्याउने भनिएको युरिया मल कहिले आउने, नआउने अझै टुङ्गो छैन तर त्योभन्दा पछि प्रकृया शुरु गरेको चीनबाट भने मल आइपुग्ने भएको छ। भदौंको दोस्रो साता प्रधानमन्त्री केपी शर्मा ओलीले बंगला देशका प्रधानमन्त्री शेख हसिनासँग फोन वार्ता गरी ५० हजार मेट्रिक टन युरिया मल पैंचो ल्याउने सहमति गरेका थिए ।

सहमति गरे पछि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले बंगलादेश बाट मल ल्याउने प्रकृया पनि शुरु गर्यो तर सो देशले अन्त्यमा सापटीमा होइन, पैसामा मात्र मल दिने भन्यो । भदौ भित्र ५० हजार मेट्रिक टन मल ल्याईदिने ठेक्का पाएका शैलुङ इन्टरप्राइजेज र हानोको मल्टिपर्पोज कम्पनीले समयमा मल नल्याईदिएपछि मलको हाहाकार भएको थियो ।

सो हाहाकारलाई पुरा गर्नका लागि सरकारले तत्कालै बंगलादेशबाट युरिया मल सापटी ल्याउने निर्णय गरेको थियो। तर बंगलादेशले सापटीमा होइन, खरिद गरेर लैजान प्रस्ताव गरेपछि नेपालले पनि खरिद गरेरै ल्याउने निर्णय गर्यो । बंगलादेशबाट मल खरिद गरेर ल्याउने भनि मन्त्रिपरिषद्बाट निर्णय गरेको पनि दुई साताभन्दा बढी भइसक्यो तर त्यो निर्णय अझै मन्त्रालयमा थन्केको छ ।

मन्त्रिपरिषद्को निर्णय कृषि मन्त्रालयभन्दा अगाडि बढेको छैन । मन्त्रालय स्रोतका अनुसार मन्त्रिपरिषद्ले जि टु जी वा प्रतिस्पर्धाबाट मल ल्याउने निर्णय गरेको छ । त्यसअघि कृषि मन्त्रालयले जि टु जीबाट मल ल्याउने प्रस्ताव मन्त्रिपरिषद्मा गरेको थियो । तर मन्त्रा लय जी टु जी वा प्रतिस्पर्धाबाट खरिद गर्ने निर्णय गरेकै कारण अहिले अकमर्णयतामा परेको छ ।

प्रतिस्पर्धा गर्नेकि जी टु जीबाट ल्याउनेमा मन्त्रालय अहिले अन्योलमा छ । यस्तै अन्योलका कारण बंगलादेशबाट मल ल्याउने सम्भावना कम हुँदै गइरहेको छ । यता, बंगलादेशभन्दा पहिले चीनबाट युरिया मल आइपुग्ने सम्भावना देखिएको छ । चीनबाट सात महिना अघि ३० हजार मेट्रिक टन मल ल्याउन टेण्डर गरिएको थियो । सो टेण्डरमार्फत चीनबाट कलकत्ता बन्दरगाहसम्म मल आइपुगेको छ ।

केही दिनमै सो मल नेपाल आइपुग्ने कृषि समाग्री केन्द्र लिमिटेडले जनाएको छ । कृषि समाग्री कम्पनी लिमिटेडले मल ल्याउनका लािग ढुवानी कम्पनी पनि छनौट गरिसकेको छ। बोरा पनि तयार गरिसकेको छ तर बंगलादेशबाट मल ल्याउने कुराको अझै सुनिश्चित भएको छैन । कृषि समाग्री केन्द्र लिमिटेडका प्रमुख नेत्र भण्डारीले बंगलादेशबाट मल ल्याउन आफूहरु तम्तयार बसेको तर हालसम्म मन्त्रालयले प्रकृया पुरा नगरेको बताए ।

मल ल्याउने सबै प्रकृया पुरा गरेर दिए मात्र आफूहरुले ल्याउने उनले बताए । बंगलादेशबाट मल ल्याउने कुरा दुवै देशको सरकार–सरकारको बीचमा कुराकानी भइ रहेको छ । यसमा कृषि समाग्री केन्द्र लिमिटेडले केही गर्न सक्दैन । कृषि समाग्री केन्द्रले ढुवानी गरेर त्यसको व्यवस्थापन मात्र गरिदिने हो । त्यसका लागि दुवै देशको सरकारले काम गरिरहेको छ । कृषि मन्त्रालयका निमित्त सचिव योगेन्द्र कार्कीले बंगलादेशबाट मल खरिद गर्ने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको बताए । खरिद गरेर मल ल्याउने प्रकृया शुरु भए को बताउँदै उनले चाँडै नै बंगलादेशबाट मल ल्याईपुर्याउने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्