बागलुङ, मसिर ७ गते । बारीभरि फलाम र सिमेन्टका पोल, त्यही पोलमा जेलिएका किबीका लहर र लहरामा लटरम्म किवी फल । ६१ वर्षीय ज्येष्ठ नागरिकको लोभलाग्दो किबी खेत। जोकोहीलाई पनि लोभ्याउने गर्छ गल्कोट नगरपालिका –१ दुदिलाभाटी चौराहका सन्तबहादुर बुढाथोकीको थालेको व्यवसायिक किवि खेतीले ।
होटल व्यवसाय छोडेर विगत ६ वर्षदेखि किवी खेतीमा लागि पर्नुभएका बुढाथोकीको होटल वालाबाट किवीवालाको रुपमा परिचय नै बदलिएको छ । जीवन कालको २५ वर्ष भारतमा सवारी चालक, १२ वर्ष काठेखोला गाउँपालिका बिहुँमा होटल व्यवसाय गरेर गरेर धित मरेपछि उहाँमा किवी खेतीको हुटहुटी चल्यो । घुमफरि गर्दै इलाम पुगेको समयमा त्यहाँको खेतीबाट प्रभावित भएर बुढाथोकीले आफ्नो १० रोपनी जग्गामा किवी लगाउनुभएको छ ।
कोदो, गहुँ, मकै, केराउ उत्पादन हुने बारीमा अहिले किवीका लटरम्म फल देख्न सकिन्छ। ‘१० रोपनी जग्गामा उत्पादन हुने अन्नवाली भन्दा १०वर्षको एउटा बोटले बढी उत्पादन दिन्छ’ बुढाथोकीले भन्नुभयो–‘माटोमा पसिना बगाउनु प¥यो, आत्मनिर्भर बन्न समस्या छैन ।’ बिरुवा लगाएको तीन वर्षदेखि उत्पादन सुरु भएको थियो । छैटाैं वर्षसम्म आई पुग्दा यस वर्ष १३५ बिरुवाबाट करिव १० क्विटन किबी उत्पादन हुने अपेक्षा गर्नुभएको छ ।
किवी व्यापारीसँगको समन्वयमा बुढाथोकीले पोखरा, बुटवल, नारायणगढ बागलुङ बजार लगायतका सहरमा विक्रीको लागि पढाउने गर्नुभएको छ। व्यापारीहरुले बारीमै आएर न्यूनतम ३५० रुपियाँ प्रतिकिलोको दरले खरिद गर्ने उहाँको भनइ छ। अन्य खेतीबालीलाई जस्तो धेरै दुःख गर्न नपर्ने हुँदा काम गर्न सजिलो हुन्छ ।
विरुवा खरिद, फलाम तथा सिमेन्टको पोल निर्माण, बगैजा तयार जस्ता संचरना निर्माण गर्दा करिव २८ लाख रुपियाँ खर्च भएको बुढाथोकीले जानकारी दिनुभयो । बुढाथोकीले चोराह कृषि तथा पशुपालन फर्म दर्ता गर्नुभएको छ । उहाँको फर्ममा मन्टी, हेलिसन र हेवार्ड जातका बोट छन् । आगमी बर्षदेखी आफनै नर्सरीमा बिरुवा उत्पादन गरेर विक्री तथा खेती विस्तारको योजना बनाउनु भएको छ ।
‘अहिले किवी खेतीमा आकर्षण बढ्दो छ’ उहाँले भन्नु भयो– ‘विरुवा विक्री गरेर पनि आम्दानी गर्न सकिन्छ ।’ मेहनत गर्न सके स्व-रोजगारमा समस्या नहुने उहाँको भनइ छ । गोरखापत्र दैनिकमा नवीन शिशिर विकले लेख्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्