‘नेपाल घुम्नै पर्ने देश रहेछ’

विक्रम गिरी, रसुवागढी (रसुवा) । वियन लुओङ भियतनामबाट नौ दिनअघि नेपाल घुम्न आउनु भएको हो। उहाँको नेपाल बसाई अझै एक साता बाँकी छ । स्नातक तहमा अध्यनरत लुओङ तीन साथीसँगै काठमाडौँ घुम्न आउनु भएको हो । काठमाडौँ उपत्यका दुई दिनमै घुमी भ्याएकी लुओङ टोलीको ध्यान एक्कासी रसुवाको लाङटाङ राष्ट्रिय निकुञ्जतर्फ मोडियो ।

“नेपाल घुम्नैपर्ने देश रहेछ”, नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा रसुवागढी नाकामा भेटिनु भएकी लुओङले भन्नुभयो, “खासमा हामी काठमाडौँ र सगरमाथा क्षेत्र घुम्न आएका थियौँ, यहाँ आए पछि लाङटाङ क्षेत्रबारे थाहा पायौँ ।” लाङटाङ पछि मात्रै उहाँले रसुवागढी नाकासम्म पुग्ने योजना बनाउनुभएको हो । उहाँको कलेजको बिदाको समय छोटो छ ।

सगरमाथा क्षेत्र घुम्न समय बढी लाग्ने भएपछि उनीहरु लाङटाङ आएका हुन् । “सगरमाथाको अवलोकन गर्न अर्को पटक आउँछौँ”, लुओङकी साथी फाम थी माईले रासससँग भन्नुभयो, “यहाँ घुम्नलायक अरु धेरै ठाउँ रहेछन् ।” भियतनाम फर्केपछि अरु साथीलाई पनि नेपाल घुम्न आग्रह गर्ने माईले बताउनु भयो । लुओङ र माईलाई यहाँ आवत जावत गर्ने बाटोघाटोको अवस्था देख्दा औधी चित्त दुःखेको छ ।

उहाँहरुले भन्नुभयो, “ठाउँ मनमोहक छ, बाटोघाटो हेर्दा दिक्क लाग्यो । काठमाडौँबाट रसुवा नजिकै भए पनि सडकको अवस्था भने दयनीय छ ।” “धेरै ठाउँमा हिलोमा हिँड्नुप¥यो”, काठमाडौँ फर्किन लाग्नुभएकी लुओङले भन्नुभयो, “बाटोमै धेरै समय खर्चिनुपर्ने अवस्था छ”, भियतनाम र नेपालको भूगोल मिल्दोजुल्दो भएकाले नेपाल घुम्न भियतनामी नागरिकलाई खासै समस्या नहुने उहाँको भनाइ छ ।

भियतनामीलाई हिमाल र वन्यजन्तुले आकर्षित गर्न सक्ने लुओङ र माईको बुझाइ छ । नेपाल भ्रमण वर्ष २०२० आजदेखि शुरु हुँदैछ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर उक्त अवधिमा २० लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्ये रसुवा पनि एउटा हो । लाङटाङ राष्ट्रिय निकुञ्जसँगै यहाँ गोसाइँकुण्ड, गणेश हिमाल, पार्वतीकुण्ड, बेत्रावतीको उत्तरगया धाम, ठूलो गाउँको भुमेस्थान, कालिकास्थान, जीवजीवेको नीलकण्ठ महादेवस्थान, मानेश्वारा, लारच्या ङ्टार, सरमथलीको निर्कुभुमे पर्यटकीय गन्तव्य रहेका छन् ।

यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई खाने, बस्ने व्यवस्था गर्नसके पर्यटनका क्षेत्रमा ठूलो फड्को मार्न सकिने गोसाइँकुण्ड गाउँपालिका– १ थुमनका पर्यटन व्यवसायी फुर्पु ग्याञ्जो तामाङले बताउनु भयो । उहाँले गाउँमै एक दशक देखि बुद्ध गे’ष्ट हाउस चलाउँदै आउनुभएको छ । काठमाडौँ देखि लाङटाङ क्षेत्र घुमेर फर्किन न्यूनतम रु १५ हजार खर्च लाग्ने उहाँले बताउनु भयो ।

स्याफ्रुबेँसीस्थित मल्ल होटलका सञ्चालक पेम्बा छिरिङ तामाङ रसुवा घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको बताउनु भयो । पछिल्लो समय होटलमा लगानी गर्नेको सङ्ख्या बढ्दै गएको उहाँको भनाइ छ । स्याफ्रुबेँसी पर्यटकका लागि प्रमुख बासस्थलका रुपमा चिनिन थालेको छ । यहाँ ठूल्ठूला होटल तथा रिसोर्ट बन्नेक्रम जारी छ । गाउँगाउँमा घरबास (होमस्टे)समेत खुल्दैछन् ।

पर्यटक स्याफ्रुबेँसीसँगै सदरमुकाम धुञ्चे, कालिकास्थान र टिमुरेमा बस्न मन पराउँछन् । रसुवाको प्रवेशद्वार बेत्रावती देखि सडक फराकिलो पार्ने काम धमाधम हुँदैछ । कालोपत्र नहुँदा पर्यटकले यात्रा गर्दा सास्ती खेप्नुपरेको पर्यटन व्यवसायी तामाङले बताउनु भयो । कालिकास्थान, धुञ्चे, भार्खु, ठूलोस्याँफ्रु, चन्दनबारी, लौरीविनायक, गोसाइँकुण्ड, स्याफ्रुबेँसी, खाम्जिङ, लामाहोटल, थाङसाप, लाङटाङ, मुण्डुलगायत क्षेत्रमा पदमार्ग भए पनि अवस्था त्यति राम्रो नभएको उहाँको भनाइ छ ।

भ्रमण वर्ष २०२० का लागि स्थानीय पर्यटन व्यवसायीले आफ्नै ढङ्गले तयारी गरेका छन् । “सरकारले घोषणा गरेको कार्यक्रमलाई हामीले सघाउनु पर्छ”, व्यवसायी तामाङले भन्नुभयो, “सरकारले हाम्रै हितका लागि ल्याएको कार्यक्रम भएकाले हामी व्यक्तिगत रुपमा सक्दो लगानी गर्न तयार छौँ ।” भ्रमणमा आउने पर्यटकलाई सकभर फापर, मकै र कोदोको परिकार बनाएर खुवाउने योजनामा यहाँका पर्यटन व्यवसायी छन् ।

“सकभर हाम्रै गाउँको उत्पादनको स्वाद चखाउने प्रयास गछौँ”, तामाङले भन्नु भयो । लाङटाङ, गोसाँइ कुण्ड, बृद्धिम, टिमुरे, थुमन, नाकथली, तातोपानी, थाम्बुचेत लगायत स्थानमा तीन सयको हारा हारीमा होटल तथा लज सञ्चालनमा रहेको पर्यटन व्यवसायी तामाङले उल्लेख गर्नुभयो । रसुवाको प्रवेशद्वार बेत्रावतीसम्म सडकको अवस्था राम्रो छ । त्यहाँदखि धुञ्चे र स्याफ्रुबेँसी सम्म पुग्ने सडकको स्तरोन्नति भइरहेको छ ।

काठमाडौँ बाट बस र जिप यात्राका लागि सहजै उपलब्ध हुन्छन् । यस क्रममा बाटोमा पर्ने नुवाकोटमा नुवाकोट साततले दरबार, देवीघाट, शिवपुरी, गेर्खुको दुधेला, चोगदे क्षेत्रको सूर्यगढी, दुप्चेश्वर, फिकुरीको जुरेथुम, राउचुली, बेल्कोटगढी, बुङताङ, देउराली लगायत ठाउँको अवलोकन गर्न सकिन्छ । ठाउँठाउँमा घरबासको पनि व्यवस्था गरिएको छ ।

काठमाडौँलाई चीनको नाका रसुवागढीसँग जोड्ने गरी सुरुङमार्गको प्रारम्भिक अध्ययनसमेत शुरु गरिएको छ । टोखा– छहरे– गुर्जुभञ्ज्याङ करिब पाँच किलोमिटर तथा बेत्रावती–रसुवागढी करिब २४ किलोमिटर लामो सुरुङमार्ग निर्माण गरे नेपालमा चिनियाँ पर्यटक उल्लेख्यमात्रामा भित्रिने सम्भावना छ ।

लाङटाङमा १३ हजार पर्यटकद्वारा अवलोकन : चालू आर्थिक वर्ष २०७६/७७ को पाँच महिनामा १३ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले लाङटाङ राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन् । निकुञ्जकका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश बस्नेतका पर्यटकबाट झण्डै रु दुई करोड राजश्व सङ्कलन भएको छ । बाह्य पर्यटक निकुञ्ज घुम्न आउने मुख्य समय फगुनदेखि वैशाख तथा असोज देखि कात्तिक हो ।

फ्रान्स, बेलायत, इजरायल, अस्ट्रेलिया, क्यानडा, जर्मनी, जापान, अमेरिका लगायत देशका नागरिक बढीजसो यहाँ घुम्न आउँछन् । आव २०७५÷०७६ मा झण्डै १४ हजार आन्तरिक तथा बाह्य पर्यटकले निकु ञ्जको अवलोकन गरेका थिए । विसं २०३२ मा स्थापना गरिएको लाङटाङ निकुञ्ज भ्रमण गर्ने सार्क मुलकका पर्यटकबाट रु एक हजार पाँच सय, अन्य देशका पर्यटकबाट रु तीन हजार तथा स्वदेशी पर्यटकबाट रु एक सय शुल्क लिने व्यवस्था गरिएको छ ।

लाङटाङ र गोसाइँकुण्ड स्वदेशी तथा विदेशी पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ । बस्नेतका अनुसार रसुवा, नुवाकोट र सिन्धुपाल्चोकको एक हजार ७१० वर्गकिलोमिटर भू–भागमा लाङटाङ राष्ट्रिय निकुञ्ज फैलिएको छ । यहाँ रातो हाब्रे, हिमाली भालु, हिम चितुवा, कस्तुरीलगायत जनावर रहेका छन् । निकुञ्जको बफर जोनको क्षेत्रफल ४२० वर्गकिलोमिटर छ ।

विसं २०७२ वैशाखमा गएको भूकम्पका कारण लाङटाङ क्षेत्रमा धेरै क्षति पुगेको थियो । अहिले उक्त क्षेत्रमा चहलपहल विस्तारै बढ्न थालेको छ । यसैबीच नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन आज बिहानै रसुवागढी नाकामा नेपाल प्रवेश गर्ने चिनियाँ नागरिक लाई फूलमाला तथा खादा ओढाएर स्वागत गरिएको छ । उहाँहरुलाई प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले स्वागत गर्नुभएको हो ।

आजै स्याफ्रु बेँसीमा रसुवा घुम्न आएका अरु देशका पर्यटकलाई स्वागत गरिनुका साथै स्थानीय कला संस्कृति सहितको झाँकी प्रस्तुत गरिएको बस्नेतले जानकारी दिनु भयो । सदरमकाुम धुञ्चेमा बास बस्ने बाह्य पर्यटकलाई आज एक दिन निःशुल्क खाने बस्ने व्यवस्था गरिएको उहाँले बताउनु भयो । गोरखापत्रबाट साभार

प्रतिक्रिया दिनुहोस्