आइफोन बनाउने कम्पनीले अब कोरोना भाइरस प्रतिरोधी मास्क उत्पादन गर्ने

ताइवान : आइफोन सहित अत्याधुनिक प्राविधिक उपकरण बनाउँदै आएको ताइवानको कम्पनी फक्सकनले अब मास्कको उत्पादन थाल्ने भएको छ। चीनमा प्राणघातक कोरोना भाइरसको संक्रमणबाट ७ सयभन्दा धेरैको ज्यान गएको र अरु हजारौं संक्रमित भएको अवस्थामा फक्सकनले औद्योगिक स्तरमा कोरोना भाइरस प्रतिरोधी मास्कको उत्पादन गर्न लागेको जनाएको छ ।

कम्पनीले सामाजिक सञ्जाल विच्याटमार्फत् विज्ञप्ति जारी गर्दै कोरोना भाइरस विरुद्धको अभियानका क्रममा हरेक सेकेण्ड महत्वपूर्ण रहेको भन्दै यही महिनाको अत्यसम्मबाट हरेक दिन २० लाख मास्कको उत्पादन गर्ने लक्ष्य लिइएको जनाएको छ। विज्ञप्तिमा कम्पनी ले चीनको सेन्जेन शहरमा मास्क उत्पादनको परीक्षण उत्पादन शुरु गरिसकिएको र केही समय भित्रै यसको पूर्ण स्तरमा उत्पादन शुरु गरिने उल्लेख छ ।

कोरोना भाइरसको महामारी फैलिरहेका कारण विश्वभर मास्कको अभाव हुन थालेको भन्दै विश्व स्वास्थ्य संगठनले चिन्ता व्यक्त गरेसँगै फक्सकनले मास्कको उत्पादन थाल्ने बताएको हो। यसअघि अमेरिकाको प्राविधिक उपकरण निर्माता कम्पनी जनरल इलेक्ट्रोनिक्सले पनि मास्कको उत्पादन गर्ने जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्