४५ हजार लगानी, मासिक एक लाख आम्दानी !

काठमाडौं: काम गर्न जाँगर भए सामान्य लगानीमा पनि मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन कटहरी–२ मोरङका दिलीप अधिकारी। ४४ वर्षीय अधिकारीले रु.४५ हजार लगानी गरेर थालेको च्याउ खेतीबाट अहिले मासिक रु.१ लाख हाराहारी आम्दानी गर्छन्। उनले गहुँ र परालको छ्वालीका ५०० वटा डल्लो बनाएर उत्पादन थाल्दा पहिलो महीनामै रु.७५ हजारमा ५०० किलो बिक्री गरेका थिए।

“अल्छी गर्नेले आम्दानी गर्न सक्दैन, मैले दिनमा १६ घण्टासम्म मिहिनेत गरेको छु” उनी भन्छन्। बन्दाबन्दीमा अरु व्यापार सुक्दा उनले उत्पादन गरेको च्याउको भने बिक्री नियमित भइरह्यो। उनले २०६४ सालमा च्याउखेती थालेका थिए। जाडोयाममा मात्रै उत्पादन गर्न सकेकाले चित्तबुझ्दो कमाइ भइरहेको थिएन। वर्षभरि च्याउ उत्पादन गर्ने तरिका जान्न २०६७ सालमा उनी भारतको पश्चिम बंगाल गए।

“जलपाईगुडीमा जागिर माग्ने बहाना बनाएर तीन महीना काम गरेँ। अनि १२ महीना नै च्याउ उत्पादन गर्ने विधि जान्ने भएपछि फर्केर आएर आफ्नै बारीमा प्रयोग गरेँ”, उनी भन्छन्। फागुनदेखि जेठसम्म सुक्खा हुने र हावा चल्ने भएकाले च्याउ उत्पादन गर्न समस्या हुन्छ। यस्तो वेला च्याउलाई सुक्न नदिन आर्द्रता व्यवस्थापनका लागि बाहिरको हावा पूरै रोकेर पानीको स्प्रे नियमित गर्नुपर्छ।

जेठ देखि भदौसम्म च्याउमा कीरा लाग्ने महीना हो। च्याउमा विषादी नहालिने भएकाले कीरा नियन्त्रण गर्न गाह्रो हुन्छ। त्यस कारण कीरा लाग्ने महीनामा च्याउका लागि तयार गरिने भुस र पराल राम्रोसँग धोएर मात्रै प्रयोग गर्नुपर्छ। मानिसको आवतजावत रोक्न सके च्याउमा कीरा नलाग्ने उनी बताउँछन्। उत्पादन गरेको च्याउ उनी विराटनगरको अस्पताल चोकमा ठेलामा राखेर बिक्री गर्छन्।

“१० किलो च्याउ बोकेर एउटा सरकारी कार्यालयमा छिर्छु सबै बिक्री हुन्छ” उनी भन्छन्, “दिउँसो ब्याङ्क र कार्यालयहरुमा गएर बेच्छु, बेलुका ठेलामा।” बजारमा महीनैपिच्छे च्याउको मूल्य घटबढ भए पनि उनी प्रायः स्थायी मूल्यमा नै बेच्छन्, प्रतिकिलो रु.२००। दिनमा ५० किलोसम्म च्याउ उत्पादन गर्ने उनले यही आम्दानीबाट ६ जनाको परिवार चलाएका छन्।

एक छोरी खाद्य विज्ञानमा धरानमा स्नातक गर्दैछिन् भने अर्की विराटनगरमा सबओभरसियर पढ्दैछिन्। कान्छी छोरी ९ र छोरा ७ कक्षामा अध्ययनरत् छन्। घर चलाउन मासिक रु.६० हजार सम्म खर्च हुने उनी बताउँछन् । च्याउका लागि पराल वा गहुँको छ्वाली, डोरी, प्लाष्टिक र फाइबरबाट डल्लो बनाउनुपर्छ। एउटा पोकामा सरदर एक किलो च्याउ उत्पादन हुन्छ।

एक पटक लगाएको बीउले चार महीना उत्पादन दिन्छ । उनी, श्रीमती र छोराछोरी च्याउ स्याहार्न खट्छन्। कामदार राखेका छैनन् । “सानो लगानीमा छिटो आम्दानी हुने कृषि भनेको च्याउ नै हो” उनी भन्छन्, “धेरैलाई च्याउ उत्पादन गर्न सिकाएँ तर, मिहिनेत नगरेकाले टिक्न सकेनन्, कति जना त विदेशतिर गए।”

च्याउ खेतीमा सफल भएकाले उनले यो वर्ष लगानी थप्ने तयारी गरेका छन्। रु.५० लाखको लागतमा चारतले घर बनाएर तीन तलामा वातानुकूलित वातावरणमा च्याउ लगाउने उनको तयारी छ। भुईं देखि तेस्रो तलासम्म च्याउ लगाउने र माथिल्लो तलामा आफू बस्ने गरी घरको नक्शा पास पनि गराइसकेका छन्।

आगामी १ वैशाखदेखि दैनिक १०० किलो च्याउ बजारमा पुर्याउने उनको योजना छ। वैशाखमा बजारमा च्याउ कम हुने भएकाले वातानुकूलित वातावरणमा उत्पादन गरेर राम्रो नाफा गर्ने उनको भनाइ छ। सात धुर जमीनमा गर्दै आएको उत्पादन अब १३ धुरमा लगा उने उनी बताउँछन्। हिमाल खबर

प्रतिक्रिया दिनुहोस्