कमलाको गीत सुन्न दर्शकको भीड

अमरराज नहकी, डुम्रे । बाल गायिका कमला घिमिरेलाई उहाँले गाउनु भएको सबै गीतहरु चर्चामा आए पछि यतिबेला देशका विभिन्न ठाउँमा भएका मेला तथा महोत्सवमा प्रस्तुति दिन भ्याई नभ्याईछ । एक महोत्सवमा प्रस्तुति दिन नभ्याउँदै अर्को ठाउँबाट निम्ता आउने गरेको छ । पुस महिनामा मात्रै ३० भन्दा बढी स्थानबाट मेला तथा सांस्कृतिक कार्यक्रमबाट निम्ता आईसकेको कमलाका बुबा कल्याणप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

पठाई बिग्रिने भएकाले सिमित कार्यक्रममा मात्रै जाने गरेको बुबा कल्याणले बताउनुभयो । तनहुँको बन्दीपुर गाउँपालिका– १ डुम्रे, चिसापानीमा आयोजित प्रथम आदिबासी जनजाति बन्दीपुर सांस्कृतिक एवं पर्यटन महोत्सवमा मङ्गलबार कमलाको प्रस्तुति हेर्न दर्शकको भीड लागेको थियो । कमलाको प्रस्तुति हेर्न महोत्सव स्थलमा स्थान नपुगेपछि नजिकको चुचुरो, थुम्कोमा पुगेर दर्शकले हरेका थिए ।

महोत्सवमा हाल सम्मकै सबैभन्दा भीड कमलाको प्रस्तुति हेर्नको लागि लागेको महोत्सव मुल समारोह समितिका संयोजक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । कमलाको प्रस्तुति हेर्नको लागि आउनु भएका नेपाल समाज वादी पार्टीका नेता तथा पूर्वमन्त्री भिमप्रसाद गौतमले सोचे भन्दा बढी प्रतिभा भएको बताउनुभयो ।‘ अनुभवीले गाए जस्तो लाग्यो म त अचम्मै लाग्यो ।’ पूर्वमन्त्री गौतमले भन्नुभयो ।

गायिका कमलाले शुरुमा ‘चिया छानेको गीत गाउनु भएको थियो। कमलाले सवाल र जवाफ तुरुन्त दिएर गाएको सुनेर दङ्ग परेको महोत्सवमा आउनु भएकी डुम्रे बजारकी भागिरथी श्रेष्ठले बताउनुभयो । गायिका कमलाले ‘पिपुलाई वर ’ लगायतका गीतमा दोहोरी गाउनु भएको थियो । यसअघि महोत्सवमा हास्य कलाकार सुरज भिरखोईरेको प्रस्तुतिले पनि दर्शकको मन जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्