‘नेपाली परिकार विश्वभरि चर्चित फ्रेन्च खानालाई पनि टक्कर दिने खालका छन्’

काठमाडौं : मास्टरसेफ यूकेको प्रतिस्पर्धामा अहिले प्रशंसा बटुलिरहेका सन्तोष शाहको सङ्घर्षको कथा नेपालको सिराहा जिल्लामा पर्ने तत्कालीन कर्जन्हा गाउँको एउटा गरीब परिवारबाट शुरू हुन्छ। बुवाको आडभरोसा त बाल्यकालमै खोसिए को थियो, पछि दाजुहरू पनि बिहेवारी गरी आआफ्नो बाटो लागे।

आमाको भावनात्मक सहारा त उनलाई थियो, तर आर्थिक रूपमा आमाका लागि उनी पनि सहारा बन्नुपर्ने भयो। गुजारा चलाउनका लागि केही त गर्नैपर्‍यो। स्कूले पढाइसँगै गाउँमा पाउरोटी र पोलिथिन बेचेर सन्तोषले दैनिक २०-२२ रुपैयाँ कमाउन थाले। एसएलसी दिए तर तीनवटा विषयमा उनी अनुत्तीर्ण भए। बुवा गुमाइसकेका सन्तोषलाई नियतिले एक पटक फेरि ठगेको महसुस भयो।

झण्डै पाँच वर्षको कडा मेहनतले अहिले सन्तोषलाई यूके मास्टरसेफको प्रतिस्पर्धामा पुर्‍याएको छ। तर सन्तोषकै शब्द सापटी लिएर भन्नुपर्दा उनको ध्यान अब यूके मास्टर सेफमा जित्नु भन्दा पनि नेपाली खानाको प्रवर्द्धन गर्नुमा केन्द्रित भएको छ । “नेपाली खानामा केही त छ जुन बाहिर आउन सकेको छैन र यो कुरा उपयुक्त होइन भनेर मैले प्रतिस्पर्धामै भनेको छु,” सिराहाका सन्तोषले सगर्व सुनाए।

“भारतीय खानाबारे मसँग २० वर्षको अनुभव छ। जित्नका लागि भए त नेपाली परिकारहरू लिएर म प्रतिस्पर्धामा जाने थिइनँ।” उनका अनुसार केही परिमार्जन (रिफाइनमेन्ट) गर्ने हो भने नेपाली खानालाई विश्वसामु एउटा छुट्टै तहमा लैजान सकिन्छ । प्रतिस्पर्धाको ‘क्रिटिक्स राउन्ड’मा टम पार्कर र ग्रेस डेन्टका सकारात्मक प्रतिक्रियाहरू पाएका सन्तोष झन् हौसिएका छन्।

नेपाली शैलीमा उनले अक्टोपसको परिकार बनाएर त्यससँग कर्कलोको पातको परिकार, भाङ्ग र टिम्मुरको अचार पस्केका थिए।त्यो खाएर ग्रेस डेन्टले मास्टरसेफमा त्यस्तो स्वादसहित सुन्दर ढङ्गले सजाएर पहिलो पटक कसैले पस्केको भनेर प्रतिक्रिया दिएको उनले बताए । “मैले मेरो देश र त्यहाँका परिकारका लागि केही गरेको छु भनेर गर्वले मेरो छाती चौडा भएको छ,” सन्तोषले सुनाए । प्रतिस्पर्धामा उनले जेरीदेखि करेलाको चटनी लगायत सम्म बनाएर पस्केका छन्। बिबिसी नेपालीमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्