एक महिने स्वस्थानी व्रत आज समापन !

काठमाडौं : पौष शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत आज विशेष पू’जा अर्चना गरी समापन हुँदैछ । काठमाडौमा अवस्थित शाली नदीमा एक महिना बाट जारी स्वस्थानी मेला समेत आजै समापन गरिने छ । पुस शुक्ल पूर्णिमा देखि विधिपूर्वक स्वस्थानीको व्रत शुरु गरेका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् ।

पौराणिक कथनअनुसार हिमालय पर्वतकी छोरी पार्वतीले स्वस्थानी व्रत बसी महादेव स्वामी पाएको धार्मिक जनविश्वासका आधारमा यो व्रत बस्ने परम्परा रहिआएको छ। स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम आजबाट सकिने छ । विधिपूर्वक एक महिने व्रत गरेका नरनारीले माघ शुक्ल पूर्णिमाका दिन व्रत अनुसारको मनोकामना पूर्णहोस् भनी भगवतीलाई अर्घ्य समेत दिइन्छ ।

रातमा जाग्राम बसी देवीको माहात्म्य सुन्ने- सुनाउने गरिन्छ । यसो गरेमा व्रतालुको मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । यसका लागि पौष शुक्ल पूर्णिमा देखि माघ शुक्ल पूर्णिमा सम्मको समय राम्रो मानिन्छ । आइतबार मध्याह्न काल पछि विधिपूर्वक पूजा लगाई व्रत समापन गरी रात्रिमा जाग्राम बसेर भोलि सोमबार बिहान फूलपाती नदीमा सेलाएपछि यो वर्षको स्वस्थानी व्रत समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्